पूर्व जनप्रतिनिधिहरूसँग बजेट तर्जुमासम्बन्धी राय सुझाव संकलन सम्पन्न

विशेष समाचार समाचार
भक्तपुर,२३ जेठ
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा सोमबार भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधिहरूसँग सुझाव संकलन गर्यो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका पूर्वजनप्रतिनिधिहरूको २०३९ सालदेखिको अनुभवबाट सिक्ने र आर्थिक वर्ष २०७६/७७ को लागि राय–सुझाव संकलन गर्ने उद्देश्यका साथ कार्यक्रम राखिएको बताउँदै नगरपालिकाले विदेशीहरूको सहयोग लिएर सम्पदा संरक्षण र विकास निर्माण कार्य गर्नेभन्दा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र नगरपालिकाको आफ्नै स्रोतको सदुपयोग गर्दै कार्य गरिरहेको बताए ।
उनले नगरपालिकाबाट दुई वर्षमा गर्दै आएका विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, पर्ति र सार्वजनिक जग्गा संरक्षणलगायतका विविध गतिविधिहरूको नपाद्वारा विभिन्न सञ्चारमाध्यममार्फत पारदर्शी गर्दै आएको जानकारी गराए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकालाई अझ व्यवस्थित गर्दै अगाडि बढ्ने क्रममा पूर्वजनप्रतिनिधिहरूको अनुभव र राय–सुझाव अत्यन्त महत्वपूर्ण हुने बताउँदै भक्तपुर सहर काठमाडौं उपत्यकाकै सबभन्दा बढी प्रदूषण हुनेसक्ने भौगोलिक अवस्थितिमा रहेको हुँदा भक्तपुरबासीलाई दम–खोकीहरूको सम्भावना बढी भएको बताउँदै यसको लागि नपाले दम तथा छात्ती रोग पुनःस्थापन केन्द्रको भवन निर्माण सुरु गरेको जानकारी गराए ।
कार्यक्रममा उपस्थित पूर्व जनप्रतिनिधिहरू विष्णुगोपाल कुसी, नारायणमान वनमाला, आशाकुमार कोजु, नाति ह्योम्बा, बुद्धिराम दुवाल, सानुकाजी माकजु, सत्यनारायण दिदिया, ज्ञानसागर प्रजापति, रामहरि गोरा, सिद्धिप्रसाद अवाल र तुल्सीराम धुख्वाले नगरका परम्परागत सीपका दक्ष शिल्पकारहरूलाई सम्मान गर्नुपर्ने, करको दायरा फराकिलो गर्नुपर्ने, नगरका सांस्कृतिक सम्पदाहरूको अध्ययन–अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्ने, मठ मन्दिर जीर्णोद्धार र पुनःनिर्माणपछि यसको अभिलेख राख्नुपर्ने, पर्यटक बसपार्क क्षेत्रको बाटो सुधार गर्नुपर्ने, पुरानो नगरपालिका भवनको शीघ्र पुनःनिर्माण गरी सांस्कृतिक संग्रहालय सञ्चालन गर्नुपर्ने, भक्तपुर नगर प्रवेश हुने सबै क्षेत्रहरूको वातावरण सुधार गर्नुपर्ने,  हनुमानघाटको सुधार गरी विद्युतीय शव दाहगृह व्यवस्था गर्नुपर्ने, १० नं. वडा कार्यालय नगाँचाको पर्ति जग्गामा भवन निर्माण गरी भवन निर्माण गरी स्थानान्तरण गर्नुपर्ने, परम्परागत सांस्कृतिक नाचगानको प्रदर्शनस्थलको व्यवस्था गर्नुपर्ने, पूर्व प्राथमिक तहका शिक्षक–शिक्षिकाहरूलाई न्युनत्तम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, एक विद्यालय एक नर्स कार्यक्रम नगरका सबै विद्यालयहरूमा लागु गर्नुपर्ने, नगरको पुरानो क्षेत्रमा भइरहेको सांस्कृतिक प्रदूषणको गतिविधि नियन्त्रण गर्नुपर्ने, कमलविनायक भ्वे छेँबाट भएका प्रदूषण नियन्त्रण गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गलाई पर्यटकीय मार्गको रुपमा विकास गर्नुपर्ने, पर्यटन शुल्क वृद्धि गर्नुपर्ने, नगरका सम्पदाहरूमा सम्पदा परिचय बोर्ड राख्नुपर्नेलगायतका सुझावहरू दिएका थिए । कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र साविक भनपा १५ का पूर्ववडाअध्यक्ष रबिन्द्र खर्बुजाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *