चितवन १६ बैशाख
नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि चितवनमा रहेका सबै इँटा उद्योग बन्द भएका छन् ।
बिगतका वर्षहरुमा कात्तिकदेखि जेठसम्म उद्योग चल्ने भए पनि यस वर्ष बैशाखमा नै बन्द हुन पुगेका हुन् । मौषममा आएको परिवर्तनका कारण जिल्लाका इँटा उद्योगहरु बन्द भएका हुन् । अघिल्ला वर्षहरुमा जेठको अन्तिम साताबाट मौषम बदली भई बर्षा हुने गथ्र्यो । यस वर्ष भने बैशाख सुरु भएसंगै हावाहुरी र पानी परिरहेका कारण इँटा उद्योगहरु बन्द भएका हुन् ।
जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् । अहिले चाँडै नै उद्योगहरु बन्द हुँदा आगामी समयमा इँटाको माग धान्न नसकिने इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाले बताए । संघका अध्यक्ष सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् ।
उत्पादित इँटाले मंसिरसम्म धान्नु पर्ने भए पनि आवश्यक इँटा उत्पादन नहुँदा आउँदो आर्थिक वर्षमा यसको प्रभाव देखिने सापकोटाको भनाई छ । पछिल्ला वर्षहरुमा बिभिन्न कारणबाट नोक्सान बेहोर्दै आएका इँटा व्यवसायीहरुले इँटा उत्पादनमा ऋण नपाउने, बिमा नहुने, खुल्ला आकासमुनि काम गर्नु पर्ने र अर्धशिक्षित/अशिक्षित जनशक्तिसंग काम गर्नु पर्दा बिभिन्न समस्या बेहोर्नु परेको जनाएका छन् । अध्यक्ष सापकोटाका अनुसार एउटा उद्योगमा ५ देखि १० करोड रुपैयाँ लगानी भएको छ । यहाँको इँटा कास्की, गोर्खा, लमजुङ लगायतका जिल्लामा जाने गर्दछ । निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको भन्दै उहाँले वास्तविक तथ्याङ्क संकलन नभए पनि करोडौंको क्षति भएको बताए ।जसका कारण यसबर्ष ३० प्रतिशत ईट्टा उत्पादनमा कमी आउने छ । संघका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका सापकोटाले पानीको प्रभाव पश्चिम नेपालमा बढी परेको र तराईमा हावाहुरीका कारण इँटा उत्पादनमा बाधा पुगेको उनले जानकारी दिए । केहीबर्ष अगाडी यहांँ ४५ वटा ईट्टा उद्योग सञ्चालनमा आएपनि हाल माटो अभाव एवं स्थानीय सरकारले लगाउने विविध करका कारण ईट्टा उद्योग बन्द हुदै गएको उनले बताए ।