कास्की १६ बैशाख
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब सहित देखिने गरी पार्क निर्माण प्रक्रिया अगाडी बढाएको हो ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ४ करोडको लागतमा फेवातालको किनारामा रहेको ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
पार्क निर्माणका लागि दुवै सरकारले २।२ कारोड लगानी गर्ने छन्। पार्क निर्माण गर्न ४ करोड लाग्ने अनुमान गरिएको छ ।
पार्क निर्माणको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मनबहादुर जीसीले सोमबार संयुक्तरुपमा उद्धाटन गरेका छन्।
प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा पार्क निर्माण अगाडी बढाइएको मुख्यमन्त्री गुरुङले बताए। प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन संयुत्तरुपमा पार्क निर्माण अभियान थालिएको उनले बताए। प्रदेश र स्थानीय सरकारबीच राम्रो सम्बन्ध छैन भन्ने भ्रमलाई चिर्न संयुत्तरुपमा पार्क निर्माणको अभियान थालेका हौ’ उनले भने। दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ ।
पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाई छ । ‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धी चाहान्छ । त्यसका लागि संरचना बनाउन आवस्यक छ, गुरुङले भने । यस पार्क एउटा महत्वपूर्ण गन्तब्य हो । निर्माणमा कुनै समस्या हुँदैन । तोकिएकै समयभित्र निर्माणको काम सकिन्छ।
मुख्यमन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि प्रारम्भ सानोबाट सुरुवात भएको बताउदै प्रदेशमा पर्यटन प्रवर्धन गर्न पुर्वाधार विकास गर्नुपर्ने बताए ।
फेवाताल संरक्षणको लागि प्रदेश सरकार लागेको बताउदै मुख्य मन्त्री गुरुङले सर्बोच्व अदालतले दिएको आदेश पालना गर्ने बताए । प्रदेश सरकारको गठन पछि विकासमा विकेन्द्रिकरण सुरु भएको उनको भनाई थियो । बिनु कन्स्ट्रक्सनलाई तोकिएको मिति आउदो असार २० गते भित्र उक्त पार्क निर्माण गर्न उनले आग्रह गरे ।
पार्क निर्माण गर्न लाग्ने अनुमानित ४ करोड मध्ये चालू बर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ ।पहिलो चरणमा पार्क निर्माण गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।
महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो, उनले भने–लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अव चम्किनेछ । आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने उनले सुनाए ।
पोखरा महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले महानगरले १ करोड ९ लाखको टेण्डर आह्वान गरेको बताए ।‘त्यस मध्ये ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भएको हो’ उनले भने। १७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ । यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।
पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार पार्क भित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ ।
सो स्थानमा बिष्णु मन्दिर समेत रहेकोले मन्दिर मर्मत सहित रुख विरुवाहरुको संरक्षण र पार्क निमार्ण गर्न ड्यामसायड क्लवको समन्वयमा निर्माण कार्य अगाडी बढाइएको छ।