जिल्लाका सरकारी विद्यालयहरुमा अझै कक्षा कोठा अभाव

शिक्षा समाचार

सिन्धुली, १० बैशाख


वि.सं.२०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका जिल्लाका विद्यालयहरुका २ हजार ६ सय ६७ कक्षा कोठा आवश्यक रहेकोमा हालसम्म १ सय ६० वटा मात्र कक्षा कोठा निर्माण हुने भएका छन् ।
जिल्लामा रहेका २ सय ७५ क्षतिग्रस्त विद्यालयहरुमध्ये हालसम्म १ सय ४७ विद्यालयमा पुनर्निर्माणको काम सुरु भएपनि अहिलेसम्म १ सय ६० विद्यालयको पुनर्निर्माणको काम सुरु हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) इकाई प्रमुख डम्वरध्वज आङ्गदेम्बेले बताएका छन् ।
हाल जिल्लामा १० हजार ७९ वटा कक्षा कोठा निर्माण हुनुपर्नेमा हालसम्म ५ सय ५१ वटा विद्यालयको कक्षा कोठा निर्माण सम्पन्न भइसकेको उनले बताए । अहिलेसम्म ५ हजार १ सय ३० वटा बनिसक्नुपर्ने हो लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन, इकाई प्रमुख आङ्गदेम्बेले बताए ।
जिल्लामा निर्माण हुने विद्यालयमध्ये एडीवीले २६ वटा, तत्कालीन जिल्ला शिक्षा कार्यालयले १३ वटा, आयोजना इकाईले १ सय ९९ वटा र अन्य जिल्लाका अन्य गैरसरकारी संस्थाहरुले निर्माण गर्ने सहमति भएको इकाई प्रमुख आङ्गदेम्बेले बताए । अन्य निकायबाट पनि काम समयमा सम्पन्न हुन्छ भन्ने एकिन नभएको उनले बताए । सम्झौता अवधिमा विद्यालयका कक्षा कोठाहरु निर्माण भइसक्ने देखिँदैन, उनले भने । अहिले निर्माण हुन लागेको विद्यालयहरुमा न्यूनतम १२ देखि अधिकतम २२ वटा कोठासम्म रहेको उनले बताए । यिनीहरुको डिजाइन भने करीब करीब उस्तै भएको पनि उनले बताए । निर्माण हुने विद्यालयहरुमा दुई वटा नमुना विद्यालय भवन निर्माण हुने पनि उनले बताए । जिल्लामा निर्माण हुने नमुना विद्यालयहरुमा कमला माध्यमिक विद्यालय दुधौली नगरपालिका–२ भलुवाई र कपिलाकोट माविको भवन रहेको उनले बताए । यी दुईमध्ये कलमा मावि भलुवाईको विद्यालय भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण समेत भइसकेको उनले बताए ।
नमूना विद्यालयमा अन्य विद्यालयको भन्दा थप भनेको छात्राबासको व्यवस्था रहेको उनले बताए । यसका विद्यालयहरुको लागि आवास सुविधा समेत भएको उनले बताए । ‘भूकम्पबाट क्षति भएका विद्यालयहरुको मध्ये निर्माण हुने विद्यालयहरुमा छात्रा मैत्री शौचालयदेखि लिएर अपाङ्ग मैत्री समेत बनाइएको छ,’ आङ्गदेम्बेले भने । अहिले निर्माण भएको विद्यालयहरु ९ रेक्टर स्कुलको भुकम्पसम्म थेग्न सक्ने क्षमताको निर्माण भएकाले भुकम्प गई हाले पनि विद्यार्थीहरु आत्तिनु पर्ने वा अविभावक चिन्तित हुनुपर्ने ,विद्यालयको पठनपाठन वन्द गर्नुपर्ने अवस्था नआउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *