‘राप्ती नदीमा तटबन्ध निर्माण अधुरै

अर्थ/वाणिज्य समाचार

लमही, १ फागुन


राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र बाँकी रहेको सबै तटबन्ध निर्माण गर्नुपर्ने भए पनि आधा काम बाँकी रहेको उनको भनाइ छ । “राप्ती नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्ने काम यस वर्ष मात्रै छ”, उनले भने “तर अझै आधा काम बाँकी छ ।”

नदीले खेतीयोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण शुरु गरिएको हो । राप्ती नदीमा आव २०७३÷७४ देखि बहुवर्षीय योजना बनाएर काम शुरु गरिएको उनले जानकारी दिए । राप्ती नदीमा विभिन्न १३ वटा योजना बनाएर काम थालिएकामा अहिलेसम्म चार वटा योजनाको काम पूरा भएको छ भने अन्य नौ वटा योजनाको निर्माण जारी छ ।

उनका अनुसार जेठान गाउँको एक किलोमिटर तथा रनसिङको करीब ९०० मिटर तटबन्ध निर्माणको काम भर्खरैमात्रै पूरा भएको छ । सबै योजना चालू आवभित्र सक्नुपर्ने भए पनि आवश्यक बजेट नछुट्याउँदा तथा ढुङ्गाको अभाव हुँदा निर्माण कार्य ढिलाइ भएको इञ्जिनीयर रामचरित्र चौधरीले बर्ताए ।

“राप्तीले दाङको लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकामा छोएको छ”, उनले भने, “ती स्थानीय तहले ढुङ्गा, गिट्टीको टेन्टर नखोल्दा निर्माण कार्य ठप्पजस्तै छन् ।” माघदेखि कामले गति लिन नसकेको भन्दै यसमा सम्बन्धित स्थानीय तहले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बबई नदीमा तटबन्ध निर्माणको काम पूरा गर्न रु ५५ करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले यस काम शुरु गर्न पत्र पठाए पनि अहिलेसम्म बजेट नपठाउँदा निर्माणको कामले गति लिननसकेको समेत उनको भनाइ छ ।

उनका अनुसार राप्ती नदीअन्तर्गत बडहरामा एक किलोमिटर तटबन्ध निर्माणको काम करीब ९५ प्रतिशत पूरा एको छ । रु पाँच करोड ७७ लाख ५८ हजार लगानीमा निर्माण हुन लागेको उक्त तटबन्ध निर्माणको जिम्मा वाइबा कन्ट्रक्सन प्रालिले लिएको छ ।

त्यस्तै कालीपुरमा निर्माण हुन लागेको २१० मिटर तटबन्धको काम करीब ९५ प्रतिशत पूरा भएको छ । रु एक करोड ९१ लाख ७९ हजार लगानीमा निर्माण हुन लागेको उक्त तटबन्धको जिम्मा जलजला निर्माण सेवाले लिएको हो । त्यस्तै सोही तटबन्धमा चार वटा स्पर राखिनेछ ।

त्यस्तै तकियापुरमा निर्माण हुन लागेको निर्माणको काम भने न्यून छ । रु छ करोड ७२ लाख दुई हजार लागतमा निर्माण हुन लागेको उक्त तटबन्ध काम करीब १० प्रतिशतमात्रै पूरा भएको छ । एक हजार २०० मिटर तटबन्धन निर्माणको उक्त जिम्मा वाइबा कन्ट्रक्सन प्रालिले लिएको छ ।

त्यस्तै तकियापुरमै निर्माण हुन लागेको ८०० मिटर तटबन्ध निर्माणको काम करीब २५ प्रतिशत पूरा भएको छ । रु पाँच करोड ३० लाख ९६ हजार लगानीमा लुम्बिनी जलजला जेभीले निर्माणको जिम्मा लिएको छ ।

त्यस्तै बडहरा–जेठानगाउँको एक हजार ४७५ मिटर तटबन्ध निर्माणको काम पनि करीब १५ प्रतिशत मात्रै पूरा भएको छ । रु १० करोड ९३ लाख २४ हजारमा निर्माण हुन लागेको उक्त तटबन्ध निर्माणको जिम्मा गौरीपार्वती, कोशी एण्ड न्यौपाने सञ्जीवनी जेभीले लिएको छ ।

त्यस्तै बोदीपुर कान्छी गाउँको एक हजार ५०० मिटर निर्माणको काम पनि एकदमै न्यून छ । रु ११ करोड ३८ लाख ६७ हजारमा निर्माण भइरहेको उक्त काम १० प्रतिशत मात्रै पूरा भएको छ । उक्त तटबन्ध निर्माणको जिम्मा सूर्य वाइबा निर्माण कम्पनीले लिएको छ ।

त्यस्तै कालीपुरमा एक हजार ५६६ मिटर तटबन्ध निर्माणको काम करीब ४० प्रतिशत पूरा भएको छ । ३६ वटा स्पर राख्नुपर्ने उक्त तटबन्ध निर्माणको जिम्मा सूर्य वाइबाले नै लिएको छ । रु १४ करोड ६५ लाख ५१ हजार लागतमा उक्त तटबन्ध निर्माण हुन लागेको हो ।

त्यस्तै बलरामपुरको दुई किलोमिटर तटबन्ध निर्माणको काम अझै पनि शुरु हुन सकेको छैन । स्थानीयको अवरोधका कारण निर्माण कार्य शुरु हुन नसकेको हो तर अहिले स्थानीयसँग सम्झौता भइसकेकाले केही समयपछि शुरु हुने इञ्जिनीयर चौधरीले बताए ।

बायाँतिर रहेको कान्छीगाउँतर्फको काम शुरु भए पनि दायाँतिरको काम शुरु हुन सकेको छैन । रु १४ करोड ९१ लाख सात हजारमा निर्माण सम्झौता भएको उक्त तटबन्ध गौरी पार्वती कोशी एण्ड न्यौपाने सञ्जीवले जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *