नागरिक भावना खोइ ?

समाचार

भक्तपुर, ११ पुस

नगरवासीमा नागरिक भावना हुनैपर्छ । नागरिक भावनासँग नगरवासीमा सांस्कृतिक स्तर पनि हुनुपर्छ । नागरिक भावना र सांस्कृतिक स्तर नहुँदा आफ्नो घर, आँगन, चोक, गल्ली, बाटो फोहर हुन्छ, जहाँतहीं फोहर फाल्छ । बटुवा हिँड्ने पेटी–पेटीमा पसलका सामानहरू राखेर हिँडदूलमा असर पुर्याउँछ । सधैंझैं गाडी गुडिरहने ठाउँमा समेत पेटी–पेटीमा सामान राखेपछि सवारी दुर्घटना हुने सम्भावना हुन्छ । अतः प्रत्येक नागरिकले आफूले गरेको कामबाट अरुलाई समस्या पार्ने या पीडा हुने काम गर्नु ठीक होइन ।
भक्तपुर नपाले प्रत्येक दिन फोहर सङ्कलन गर्ने गाडीमार्फत पेटी–पेटीमा सामान नराख्न, हाँस, कुखुरा जहाँतहीं नछोड्न, फोहर निश्चित ठाउँ या गाडीमा राख्न आग्रह गरिरहेको छ । तर पनि कति नगरवासीले त्यसलाई टेरपुच्छर नगरी पेटी र बाटोमा असर पर्ने गरी सामान राख्ने काम छोडेको छैन । चाहे व्यापार–व्यवसायीहरू नगरवासी होऊन् या अरु ठाउँबाट आएका होऊन्, जहाँतहीं सामान राखेर नागरिक भावना भुल्नुहुँदैन । आ–आफ्नो ठाउँलाई आफैले व्यवस्थित गरेर नागरिक भावनाको परिचय दिनुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न नियम मिच्ने, अरुलाई मर्का पार्ने काम गरेर आफू कसरी असल नागरिक बन्छ ?
जीवन निर्वाह गर्न आ–आफ्नो औकातअनुसार व्यापार–व्यवसाय गर्नुपर्छ, आयआर्जन गर्नुपर्छ । तर, आफूले नियममा बसेर काम गर्नुपर्छ । नपाको आग्रहलाई बेवास्ता गरी अहिले पनि कमलविनायक क्षेत्रदेखि भार्वाचोसम्मका कति सडक पेटीमा सामान राखेर व्यापार व्यवसाय गरिरहेको पाइन्छ । आग्रह गर्दा गर्दै कुनै कसैले नियम मिचेर जहाँतहीं सामान राखी बिक्री गर्छ भने नपाले सामान हटाउने अभियान थालनी गर्ने हो कि! नपाले स्वच्छ र सुन्दर नगर बनाउन नियमित सफाइ अभियान गरी जनतामा सचेतता ल्याउने काम गरेजस्तै सामान हटाएर बजार व्यवस्थापन व्यवस्थित गरे कसो होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *