पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

पर्यटन विशेष समाचार समाचार

नारायणपुर, २८ माघ

प्रदेश नं ५ का पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकास हुन सकेको छैन । प्रदेशका १२ जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विकास पर्याप्त मात्रामा हुन सकेको छैन ।

प्रदेश सरकारले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाए पनि त्यहाँ पूर्वाधार अभावसँगै प्रचारप्रसारमा समेत कमि रहेको पाइएको छ । “प्रदेश नं ५ मा सयौँ धार्मिकस्थल, ऐतिहासिक र पुरातात्विक सम्पदा छन्, पूर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षित गर्न सकिएको छैन”, राष्ट्रियसभाका सांसद अनिता देवकोटाले भने “स्थानीय, प्रदेश र सङ्घीय कार्यक्रम आएपछि पर्यटकीय क्षेत्रमा काम शुरु भएको छ ।”

सम्पदाको संरक्षण प्रमुख चुनौतीको विषय रहेको उनको भनाइ छ । “ऐतिहासिक दरबार जीर्ण छन्, तिनको संरक्षण र खोज अनुसन्धान आवश्यक छ”, उनले भने, “प्रचारप्रसार गर्न स्थानीय सरकारले योजना बनाउनुपर्छ ।”

प्रदेशले पर्यटनबाट समृद्धि हासिल गर्नसक्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले बताए । “पर्यटक भित्र्याउन सक्ने सम्भावना छ, पूर्वाधार र वातावरण छैन”, उनले भने, “तुलसीपुर उपमहानगरपालिकाले यासवर्ष पूर्वाधार निर्माण गर्न योजना बनाएको छ ।”

यस्तै क्यानडा–नेपाल पर्यटन, संस्कृति तथा व्यापार मञ्चका अध्यक्ष नरबहादुर टण्डनले पर्यटकीय राजमार्गको विकास गरी स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए । लुम्बिनी घुम्न आउने पर्यटकलाई दाङका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न आवश्यक भएको उनको भनाइ छ । दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुषाल सरकारले योजना बनाए निजी क्षेत्र पर्यटन क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *