नेपाल एयरलाइन्सले जापानका लागि एओसी पायो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, १९ माघ

नेपाल एयरलाइन्सले जापान उड्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमान उडान अनुमति(एओसी) पाएको छ।

एयरबसको ए३३० सिरिजको वाइड बडी जहाजबाट काठमाडौं–ओसाका उडान गर्ने तयारी गरिरहेको राष्ट्रिय ध्वजाबाहकले प्राधिकरणबाट शुक्रबार अनुमति पाएको हो।

नयाँ सेक्टरमा उडान सुरू गर्नका लागि स्वदेशको नियामकबाट पनि अनुमति लिनुपर्छ। सोहीअनुसार प्राधिकरणले नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो।

नेपालमा अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको नेपाल एयरलाइन्सका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

‘नेपालमा गर्नुपर्ने सबै डकुमेन्टेशनको काम पूरा भएको छ, अब हामी जापानको नियामकसँग अनुमतिका लागि पेश गर्छौं, ’ उनले  भने।

फागुन १५ सम्म जापान उडान गरिसक्ने तयारी गरेको नेपाल एयरलाइन्सले अनुमति जापानबाट अनुमति पाएपछि उडान सुरू गर्न १ महिना लाग्ने बताएको छ। जापानमा अनुमति नपाएसम्म प्रवर्द्धन र टिकेटिङको तयारी गर्न नसकिने भएकोले केही समय लाग्ने छ।

चैत १५ सम्म चीनमा पनि उडान सुरू गरिसक्ने लक्ष्यसहित एयरलाइन्सले दुवै गन्तव्यमा प्रतिनिधि खटाइसकेको छ।

असार र साउनमा आएका एयरलाइन्सका दुई वाइड बडीले लामो गन्तव्यमा उडान अनुमति नपाउँदा ऋणको किस्ता तिर्ने पैसा पनि कमाउन नसकिएको भन्दै एयरलाइन्सले सरकार समक्ष पैसा दिन आग्रह गरिरहेको छ।

अर्थमन्त्रीले आफैं किस्ता तिर्ने क्षमता नहुन्जेलसम्म सरकारले किस्ता तिरिदिनेमा सहमति दिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *