स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु

विज्ञान/प्रविधि विशेष समाचार समाचार

चितवन, २० पुस


भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन आजदेखि शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालिम दिएर १०५ जनालाई घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रमा खटाएको हो ।

सर्वेक्षणका संयोजक वीर्ख क्षेत्रीका अनुसार महानगरभित्र प्रारम्भिक रुपमा ७५ हजार घरधुरी रहेको अनुमानमा ती गणक खटाइएको हो । यद्दपि घरधुरी सङ्ख्या बढी भएमा गणक थपिने छ ।

क्षेत्रीका अनुसार तीन दिनको प्रारम्भिक विषय वस्तु, दुई दिनको नमूना फर्म भर्न सिकाएर र दुई दिनको पुनःअभिमुखिकरण तालिम गराएर उनीहरुलाई कार्यक्षेत्रमा पठाइएको हो । उनीहरुले ३५ वटा शीर्षकको हरेकमा २०० भन्दा बढी प्रश्न घरधनीलाई सोध्ने छन् ।

क्षेत्रीका अनुसार घरपरिवार, घरको बनोट, परिवारको सङ्ख्या, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार पहँुच, घरभित्रका सामग्री, रोजगारी तथा पेशा, सीप, यातायात सुविधा लगायतका शीर्षकमा प्रश्न सोध्ने छन् । दुई महिनामा उनीहरुको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनीहरुसँगै एक जना कार्यक्रम संयोजक, एक जना फिल्ड संयोजक र तीन जना सुपरिवेक्षक खटिएका छन् ।

यसैगरी पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग लगायतका विषयमा सम्बन्धित कार्यालय, संस्था र वडा समितिसँग छलफल गरिने क्षेत्रीले बताए। दुबै तर्फको तथ्याङ्क सङ्कलन भएपछि महानगरको स्मार्ट सिटीका लागि गुरुयोजनाको कार्य अगाडि बढ्ने छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको बताए । कामलाई सकेसम्म चाँडो सकेर गुरुयोजना निर्माण गरिने उनले बताए । आफ्ना सूचना सहज उपलब्ध गराइदिन महानगरवासीसँग आग्रह गरिएको पनि दाहालले बताए ।

भरतपुर महानगरपालिकाका आर्किटेक इञ्जिनीयर अस्मिता खनालले देशका १० शहरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार भरतपुर महानगर पनि स्मार्ट सिटी निर्माणमा अघि बढेकाले गुरुयोजना निर्माणका लागि तथ्याङ्क सङ्कलन थालिएको बताए । उहाँले स्मार्ट सिटीमा सबै कुरा स्मार्ट हुनुपर्ने भएकाले पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *