वागीश्वरीमा ‘मजदुर–किसान’ को अन्तरक्रिया

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २३ असोज

नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको आयोजनामा मंगलबार वागीश्वरी मावि÷कलेजका प्राध्यापकहरुबीच नेपाल मजदुर किसान पार्टीको मुखपत्र वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को ‘मजदुर–किसान’ पत्रिकाको अन्तरक्रिया तथा विजया दशमीको शुभकामना कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले देशको भविष्य राम्रो बनाउने विद्यार्थीलाई देश विदेशको राजनीतिक चेतना दिनुपर्ने बताउनुभयो । उहाँले विश्व अर्थतन्त्र जसको बलियो हुन्छ, त्यो देश शक्तिशाली हुने भएकाले अमेरिका र चीनबीचमा आर्थिक स्थितिलाई मजबूत बनाउन लागिपरेको बताउनुभयो । उहाँले आफू विकसित देशका रुपमा नभई विकासोन्मुख देशका रुपमा चीन अघि बढेको स्पष्ट पार्नुभयो । साथै उहाँले पत्रिकाका विभिन्न पक्षलाई केलाउँदै भारतीय विस्तारवादले नेपालका हरेक पक्षमा हस्तक्षेप गरिरहेको बताउनुभयो । जसले गर्दा नेपालले सस्तोमा बंगलादेशबाट ग्यास ल्याउनसक्ने सम्भावनालाई ध्यान दिएर भारतबाटै किन्न बाध्य पारेको उहाँको भनाइ छ ।


देशको हरेक ४ वर्ग किमीको अन्तरमा भारतीय गुप्तचर रहेको बताउँदै उहाँले नेपालका पप्पु कन्ष्ट्रक्शनलाई भारतले नै विभिन्न पक्षबाट सहयोग गरिरहेको तर्क राख्नुभयो । राजनीतिक संरक्षण र दबाबले गर्दा निर्मला पन्तका हत्यारा समाउन नसकेको र पप्पु कन्ष्ट्रक्शनका मालिकलाई सरकारले कुनै कारबाही गर्न नसकेको उहाँले बताउनुभयो । साथै, उहाँले तत्कालीन माओवादीलाई नेपालको ट्रोजन हर्स बनाएको कुरा अहिले झन स्पष्ट भएको बताउनुभयो ।


कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवादको सार समाजवाद र साम्यवाद भएको बताउँदै यसबारे विश्वको इतिहासबारे सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले रुसमा ख्रुश्चेभको संशोधनवादी नीतिले शान्तिपूर्ण तरीकाबाट समाजवाद ल्याउने सोच गलत भएको स्पष्ट पार्नुभयो । साथै, नेपालका नाम मात्रका कम्युनिष्ट पार्टीहरुले नेपालमा समाजवादउन्मुख शासन प्रणालीलाई अँगाल्न नसकेको बताउनुभयो । भारतले नेपालमा विनास्वार्थ कुनै कार्य नगरेको स्पष्ट पार्दै उहाँले नेपाललाई भारतको उपनिवेश बनाइराख्न माओवादीलाई प्रयोग गरेको बताउनुभयो । अहिलेको सरकारले आफ्नो अनुकूलतामा कानुन बनाउने भएकोले पूजीवादी नीति लिएको उनको तर्क छ । साथै उहाँले नेमकिपाले सदन र सडकबाट जनताको भावनाविपरीतका नीति निर्माणको विरोध गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपाल प्राध्यापक समाज केन्द्रीय सदस्य एवम् वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी एकाइ अध्यक्ष ग्याहेन्द प्रसाद दाहालले स्वागत गरेका थिए । अन्तरक्रियामा विकल प्रजापति, सुन्दर राजचल, सुशिला कर्माचार्य, उकेश सुवाल, निरु ताल्चाभडेल, शिवबहादुर खुलिमुली, मुरज दिदीया, राजन चौगुठीलगायतले मुखपत्रका विषयमा विश्लेषणात्मक विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *