एमसीसीविरुद्ध ललितपुरमा विरोध जुलुस र सभा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

ललितपुर, १ असाेज

नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा बिहीबार ललितपुर जिल्लाको गोदावरी नपा वडा नं. १२ थेचोमा राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध जुलुस तथा कोणसभा भयो ।

गोदावरी नगर परिक्रमा गरी चापागाउँ बसपार्कमा भएको विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसीको विरोध र भारतको हस्तक्षेपको विरोधमा अन्य पार्टीले चुइँक्क नबोली नूनको सोझो गरेको आरोप लगाए ।

“नेमकिपा नेपालको सार्वभौमिकता बचाउन चाहन्छ । यतिबेला एमसीसीको विरोधमा जनजागरण ल्याउनुपर्नेमा मन्त्रीको हानथाप गर्नु धिक्कार छ”, उनले भने ।

उनले अमेरिकी साम्राज्यवादले इराक, अफगानिस्तान, लिविया, सिरिया, भियतनामजस्ता देशमा अशान्ति र युद्ध मच्चाएर दुःख दिएको स्मरण गर्दै नेपालमा एमसीसी ल्याएर दुःख, अशान्ति मच्चाउन खोजेको हुँदा नेमकिपाले देशभर विरोध प्रदर्शन गरिरहेको बताए ।नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सरकारले एमसीसी संसदबाट पारित गर्न भित्रभित्र षड्यन्त्र गरिरहेको विचार व्यक्त गरे।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ्ग, सह–संयोजक सुरेश परियार, राजवीर डंगोल, नमन महर्जनले पनि एमसीसी सम्झौता खारेज गर्नुपर्नेबारे बोलेको थियो ।

त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध महालक्ष्मी नगरपालिकाको सिद्धिपुरबाट सुरू भएको जुलुस थसीमा पुगी कोणसभामा परिणत भएको थियो । लुभुमा भएको कोणसभामा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा जस्तोसुकै अन्यायपूर्ण युद्धको विपक्षमा रहेको बताए।

भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवादसँग मिलेर नेपाललाई हस्तक्षेप गरी चीनमाथि हमला गर्न खोज्दै छ । संरा अमेरिका एसियामा तेस्रो विश्व युद्ध छेड्न चाहन्छ । यसतर्फ सम्पूर्ण नेपाली जनता सचेत भई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध एकगठ हुनु आवश्यक छ, उनले भने ।
अहिले पनि संसारका धेरै देशहरूमा अमेरिकी सेना रहेको जानकारी दिँदै केन्द्रीय सदस्य गोसाईंले एमसीसीमार्फत संरा अमेरिका नेपाल पस्न खोजेको बताए ।

कोणसभामा पार्टी केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी सम्झौता पारित भए नेपाल संरा अमेरिकाको नवउपनिवेश कायम हुने खतरा भएकोले जनता जागरूक हुनुपर्ने बताए ।
साम्राज्यवादीहरूको गिद्देदृष्टिबाट जोगिनुपर्ने आवश्यकता औँल्याउँदै उनले नेमकिपाले स्थापनाकालदेखि कामदार जनताको पक्षमा, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा सङ्घर्ष गर्दै आएको बताए ।

नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौता संविधानभन्दा माथि भएकोले देशभक्त नेपाली जनताले खारेजीको माग गरेको बताए । कोणसभापछि विरोध जुलुस साना गाउँ परिक्रमा गरी लुभुसम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *