भक्तपुरमा ८ सय वर्ष पुरानाे भाजुपुखु र जलेश्वर मन्दिरको उद्घाटन

कला/साहित्य विशेष समाचार समाचार

१ करोड ८७ लाख ३५ हजारमा पुनर्निर्माण सम्पन्न

प्रेम प्रजापति
भक्तपुर, २५ फागुन


‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित भाजुपुखु र जलेश्वर मन्दिरको शुक्रबार उद्घाटन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरुको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्व विभाग, विश्वविद्यालयहरु र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए । उनले प्राचीन सम्पदाहरुबारे स्कूल कलेजहरुमा अध्यापन गरी नयाँ पुस्तावीच यस्ता सम्पदाहरुको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।

वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले एक दुई वर्षको अन्तरालमा महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरुको सचेतनाको चिनो भएको बताए । यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरुको निर्माण पुनर्निर्माण गर्न जोड दिएको थियो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताए । उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताए ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धनमा सबैको साथ रहेको बताए । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने औल्याए ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरु पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कविता लुइटेल, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मी, उपप्रमुख रजनी जोशी, भनपा १ वडाअध्यक्ष श्यामकृष्ण खत्री, ९ वडाअध्यक्ष रवीन्द्र ज्याख्वलगायतले पुनर्निर्माणबारे आफ्नो भनाइ राखेका थिए ।

विसं. २०५८ शिवरात्रीकै दिन सुरु भएको उक्त कार्य २०८० शिवरात्रीकै दिन सम्पन्न भएको उक्त कार्यक्रममा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको स्मरण गर्दै पुनर्निर्माण कार्यमा निरन्तर लाग्नुहुने महिला श्रमिकहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले दोसल्ला ओढाइ सम्मान गरेको थियो । प्रमुख अतिथि विजुक्छेँबाट ‘भाजुपुखु र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तक विमोचन गरेको उक्त कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षहरु लक्ष्मीनारायण राजलवट, कृष्ण प्रसाद दुमरु, केशव कोजु, जीवन दुवाल र डकर्मी श्यामकृष्ण त्वायनालाई धन्यवादपत्र प्रदान गरी सम्मानित गरे ।

पुनर्निर्माणका लागि लगत इष्टमेट २ करोड ५१ लाख ७९ हजार ९९० रहेकोमा जम्मा खर्च १ करोड ८७ लाख ३५ हजार ६३४ रुपैयाँमा सम्पन्न भएको उक्त कार्यका लागि इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय भाज्यापोखरीको अध्ययन कार्यदल गठन भएको थियो । उक्त कार्य गर्न ६ वटा उपभोक्ता समितिहरु बनेका थिए ।

नासमनाबाट विभिन्न बाजागाजासहित निस्केको उक्त कार्यक्रममा स्थानीय जनता, विद्यालय, स्काउटलगायतका संघसंस्था, टिम, क्लवहरुको सहभागिता रहेको थियो ।
– – –

Leave a Reply

Your email address will not be published. Required fields are marked *