भक्तपुर नगरपालिकामा आवधिक योजना तर्जुमासम्बन्धी अभिमुखीकरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भक्तपुर नपाको आवधिक योजना तर्जुमासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार नपाको सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले आवधिक योजनाको सुरुवात सोभियतकालीन राज्यबाट भएको उल्लेख गर्दै देशलाई चरणबद्ध रुपमा विकास गर्न र उपलब्ध सीमित स्रोत साधनबाट अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा आवश्यक पर्ने बताए ।

नगरको विकास कार्यलाई व्यवस्थित र निर्धारित समयमै सञ्चालन तथा सम्पन्न गर्न आवधिक योजनाको आवश्यकता रहने उल्लेख गर्दै उनले स्थानीय तहहरुले अरुको नक्कल गर्ने नभई आफ्नो वास्तविक धरातलमा आधारित योजना बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख प्रजापतिले भक्तपुर नपाले योजनाबद्ध ढंगले आफ्ना विकास निर्माणका योजनाहरुलाई अगाडि बढाइरहेको प्रष्ट पारे । त्यस्तै उपप्रमुख रजनी जोशीले आवधिक योजना तर्जुमाले नगर र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगरको सन्तुलित र सुनियोजित विकास गर्न यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले आवधिक योजनाको महत्वमाथि प्रष्ट पार्दै मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, भौतिकलगायतको विकासको लागि उपलब्ध सीमित स्रोतसाधनको आधारमा योजना सम्पन्न गर्न आवधिक योजनाको महत्व धेरै हुने बताए ।

कार्यक्रमका परामर्शदाता सन्देश पौडेलले आवधिक योजना तर्जुमासम्बन्धी प्रस्तुतीकरण देखाउनुभएको थियो भने योजना शाखाका दिलभक्त जयनाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधि र शखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *