राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच अभिमुखीकरण

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १० कात्तिक


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औंलाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना संकलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम गरिनुपर्नेमा जोड दिए ।
राज्यले दिने सम्पूर्ण सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचय पत्रको अवधारणा अगाडि ल्याइएको बताउदै व्यक्तिको सम्पत्तिको सुरक्षा हुने तथा जालसाझी र किर्ते कामहरु नियन्त्रण गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रमुख प्रजापतिले राष्ट्रिय परिचय पत्र विवरण संकलनको क्रममा हुनसक्ने त्रुटीलाई ध्यानमा राखी आवश्यक संशोधनको व्यवस्था पनि गरिनुपर्नेमा जोड दिँदै राज्यले संकलन गरेका नागरिकहरुका व्यक्तिगत विवरणहरु सुरक्षित हुनुपर्ने बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले राष्ट्रिय परिचय पत्र नागरिकहरुको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकहरुको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने बताए ।

कार्यक्रमका सभापति प्रजिअ शर्माले व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारिएको बताए । नेपाली नागरिकता प्राप्त नागरिकहरुले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको उनले प्रष्ट पारे ।

आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताउँदै उनले हाल २० वटा जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भइसकेको र १० वटा जिल्लामा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।का

र्यक्रममा भक्तपुर जिल्लाका सहायक सीडीओ सीता परियारले राष्ट्रिय परिचय पत्र वितरण र विवरण दर्ताबारे आफ्नो प्रस्तुतीकरण देखाउँदै यो परिचयपत्र भौतिक र अनलाइन दुवै माध्यमबाट प्रयोग गर्न सकिने र यसमा नेपाली नागरिकता प्राप्त नागरिकहरुको वैयक्तिक र जैविक विवरण नागरिकहरुको पहिचान र हितमा सञ्चालिन कार्यक्रमअन्तर्गत रहेको बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, वडा सचिव तथा रुजु अधिकारीहरुले राष्ट्रिय परिचय पत्र विवरण संकलनको समयमा देखिने समस्याहरुबारे आ–आफ्नो जिज्ञासाहरु राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *