इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

विशेष समाचार समाचार

न्यूज अपडेट, संवाददाता
भक्तपुर, १५ असोज


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७/७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिदै आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपर्ने बताए ।
वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पुयाएको बताउदै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीहरुको पहिचान भएको बताए ।
उनले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने बताए ।


कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्छ भन्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो  औल्याए ।
स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको बताउदै उनले देशका मुख्य मुख्य पदमा बसेका व्यक्तिहरुको सोचमा परिवर्तन नआएसम्म समाज रुपान्तरण हुन गार्हो हुने बताए ।
भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरु सेवामुखी भएको बताउदै उनले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न यी कलेजहरुको स्थापना भएको बताए ।
कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्दै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताए । कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन लिवास फैंले विषयत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *