न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ भदौ

सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक कार्यतालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार भएकाे हाजिरीजवाफ प्रतियोगितामा पञ्चकन्या मा. वि.का आयुश दुलाल र पुष्पा दुलालकाे समूहले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ ।
“हाजिरीजवाफ प्रतियोगितालाई जीवनपद्दतिको रुपमा लिइनुपर्छ । प्रतिस्पर्धामा भाग लिनु नै सिक्नु हो र हारजित स्वभाविक छ । साथै यस्ता प्रतियागिताले विद्यार्थीको अध्ययनस्तरमा अहम् भूमिका खेलेको हुन्छ ।” प्रस्तुत भनाइ पुरस्कार वितरण समारोहका सभापति एवं वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको हो ।
जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकाल र गणेश माध्यमिक विद्यालय भार्वाचोका प्रधानाध्यापक गणेशराम थुसाले समसामयिक विषय र अतिरिक्त क्रियाकलापको महत्वबारे चर्चा गरे । शिक्षक मंगलेश्वर ध्वजूले संचालन गरेको सो प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उकेश सुवाल र शिक्षक विशेश्वर मानन्धरले पनि विजयी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको थियो ।
भक्तपुरका १३ माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा सम्पन्न सो प्रतियोगितामा गणेश माध्यमिक विद्यालय भार्वाचोका स्मृति मानन्धर, मिलन बिक दोस्रो, बासु माध्यमिक विद्यालयका कुण्ता श्रेष्ठ र रुस्तम थापा तृतीय र समाजसुधार माध्यमिक विद्यालयका सविन नेगी र रोजिना श्रेष्ठले सान्त्वना स्थान हासिल गर्न सफल भएकाे छ।