दुवाकोटमा वीर अस्पतालको सेवा पुन: सञ्चालनमा ल्याइँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ भदाै

दुवाकोटको वीर अस्पतालको उपचार सेवा पुन: सञ्चालनमा आउने भएको छ। कोरोना भाइरस संक्रमणका कारण रोकिएको सेवा पुन: सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइएको हो।

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा फेरि सञ्चालनमा ल्याउनका लागि उक्त क्षेत्रका स्थानीय तथा सरोकारवालासँग छलफल भइसकेको छ।

उनले विस्तारित सेवा सञ्चालनका लागि चाल्नु पर्ने कदम तथा तयारीका विषयमा जानकारी लिन बिहीबार उक्त क्षेत्रको अवलोकन गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइएको जानकारी दिए।

डा बस्नेतका अनुसार दुवाकोटमा ओपिडी सेवा तथा अन्य प्रयोगशाला परीक्षण, एक्सरे तथा भिडियो एक्सरे लगायतका सेवा दिने तयारी भएको हो।

उनका अनुसार यी सेवा दिनका लागि दुवाकोटमा हाल चार जनाको जनशक्ति समेत छन्। ‘डाक्टरसहितको जनशक्ति सेवा दिन तयार हुनुहुन्छ’, उनले भने, ‘केही प्राविधिक तयारी पुरा गरेर छिट्टै सेवा सञ्चालनमा ल्याउने छौं।’

दुवाकोटमा विस्तारित सेवा डा बस्नेत पहिलो पटक वीर अस्पतालको निर्देशक हुँदा नै सुरु भएको थियो। कोरोना महामारीका कारण उक्त सेवा रोकिन पुगेको थियो।

सरकारले दुवाकोटमा अन्तराष्ट्रिय स्तरको वीर अस्पताल बनाउने प्रक्रिया अगाडि बढाइसकेको छ। पाँच सय ३८ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको वीर अस्पताल बनाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *