नगर प्रमुख प्रजापतिलाई आधारभूत विद्यालय समितिको ज्ञापन पत्र

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आधारभूत विद्यालय समिति भक्तपुरले शुक्रबार ज्ञापन पत्र बुझाएको छ । नगर प्रमुख प्रजापतिलाई आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दिपक माकले ५ बुँदे मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख प्रजापतिले कोभिडका कारण भौतिक उपस्थितिमा विद्यालयहरुमा कक्षा संचालन चुनौतीपूर्ण भएको बताउँदै कोभिड जोखिमबीच विद्यालय सञ्चालन गर्ने विषयमा नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग चरणबद्ध रुपमा छलफल चलाइरहेको बताए ।
कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम निर्माणको तयारीमा रहेको अवगत गराउँदै उनले वद्यालय सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयले बनाएको विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजनाअनुसार अगाडि बढ्ने तयारीमा लागिपरेको बताए ।

उक्त ज्ञापन पत्रमा कोभिड संक्रमणका कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरुको शिक्षण सिकाइमा आशातित रुपमा प्रभावकारी बन्न नसकेको, धेरै विद्यार्थीहरु भएका विद्यालयहरुको हकमा चरणबद्ध रुपमा आलोपालो गरी कक्षा सञ्चालन गर्न दिनुपर्ने, कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराई शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्नुपर्ने, शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, आधारभूत विद्यालयहरुको स्थायित्व र विकासमा ध्यान दिनुपर्ने र सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगीहरुको पारिश्रमिक वृद्धि गर्नुपर्नेलगायतका मागहरु रहेका छन् ।

यसअघि विद्यालय सञ्चालन गर्ने विषयमा भक्तपुर नगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग छलफल गरी आवश्यक राय सुझाव लिएको थियो । बैठकमा विद्यालयका प्रतिनिधिहरुले विद्यालय सञ्चालन गरेका अरु नपाको स्थिति हेरेर आचारसंहिता पालना गरी चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्नुपर्ने, सार्वजनिक विद्यालयहरुमा अनलाइन कक्षा भौतिक उपस्थिति जतिको प्रभावकारी नभएको, अनलाइन कक्षा आधारभूत तहमा कम प्रभावकारी भएको, विद्यार्थीमा सञ्चारको नकारात्मक असर पुगेको, अनलाइन कक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्दै लानुपर्नेलगायतका धारणा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *