नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १७ भदाै

फाइल तस्वीर
कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको सैनिक प्रतिनिधिमण्डल भारत गएको थियो ।

नेपाली सेनाले विभिन्न मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ । भारतसँग हुने अभ्यास ‘सूर्य किरण’ मा सबैभन्दा बढी सैनिक सहभागी हुने गरेका छन् । दुई हप्तासम्म हुने यो अभ्यास २०६७ सालबाट शुरु भएको हो ।

पहिलो नेपाल–भारत संयुक्त अभ्यास नेपाली सेनाको जंगल वारफेर शिक्षालयमा भएको थियो । त्यसयता नेपाल र भारतबीच आलोपालो गरेर संयुक्त सैन्य अभ्यास भइरहेको छ ।

यो अभ्यास प्रतिविद्रोह, प्रतिआतंकवाद, विपद्पछि उद्धार, विष्फोटक पदार्थको डिस्पोजल लगायतको विषयमा केन्द्रित हुनेछ । अन्य देशसँगको संयुक्त सैन्य अभ्यास शुरु गर्न पनि पहल भइरहेको सैनिक स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *