सुर्खेतमा ठूला होटल सञ्चालन

अर्थ/वाणिज्य समाचार

वीरेनद्रनगर, २२ माघ


सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्न थालेका छन् । ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगर हुने अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना हुने गरेका थिए । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहु“दा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउने थियो । जब प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानी एकाएक फड्को मार्न थाल्यो ।
सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको हो । स्थलमार्ग हुँदै माथिल्लो कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले आफूहरु उत्साही भएका होटल व्यवसायीहरुले बताएका छन् । सुर्खेत प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइर्भसन, मध्यपहाडी, मदन भण्डारी राजमार्गजस्ता लगायतका ठूला आयोजनाको निर्माणले यहाँ सुविधा सम्पन्न होटल खुल्ने अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाई छ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सिर्जना भएको बताए । “कर्णालीमा पर्यटकीय पूर्वाधारको विकास, सडकको पहुँच विस्तार हुँदै जानुजस्ता कारण यहाँ पर्यटकको चहलपहल बढ्दै गएको छ,” शाहीले भने , “मुख्यतः हाम्रो होटल व्यवसायमा लगानी बढ्नु प्रादेशिक संरचनाकै उपज हो, त्यसपछि पर्यटकीय चहलपहल पनि हो ।”

प्रदेश अन्य ९ जिल्ला पुग्न सुर्खेतकै बाटो भएर पुग्नुपर्छ । त्यसले गर्दा यहाँ पर्यटकलाई लक्षित गरेर होटल खुल्ने क्रम बढेको हो । ठूलो संख्यामा हिन्दु, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेख लगायत जिल्लाका पर्यटकीय स्थलहरु घुम्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सुर्खेत, कालिकोट र जुम्लामा होटलहरु खुल्न थालेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा सिद्धार्थ र शुभ दुई ठूला होटल हुन् । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो १२ औं शाखाका रुपमा २०७२ वैशाखदेखि सुर्खेतबाट सेवा सुरु गरेको थियो । । शुरुमा रु. १६ करोडको लगानी रहेको मूलपानीस्थित तत्कालिन शनी रिसोर्टमा रु. ५ करोड लगानी थप गरेर रु. २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सूचारु गरेको हो । २०७३ चैत मसान्तबाट रु. २७ करोडको लगानीमा जुम्ला रोडमा शुभ होटल सञ्चालनमा आयो । शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले रारा र कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर ६० वटा डिलक्स रुम, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाहमण्डप, लिफ्टलगायतका सुविधासहित अपाङ्गमैत्री संरचना निर्माण गरेको जानकारी दिए ।
सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थान हो । जहाँबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सिद्धपाइलामा २०७४ माघदेखि रु. ६ करोड बढीको लागतमा होटल स्टे भ्यालीभ्यू सञ्चालनमा आयो । कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर वीरेन्द्रनगरदेखि करिब ९ किमी उत्तरमा होटल सञ्चालनमा ल्याइएको हो । त्यस्तै, रु. ४ करोड ८५ लाखको लागतमा २०७४ सालदेखि चर्चित पर्यटकीयस्थल बुलबुले उद्यानको प्रवेशद्वार नजिकै बुलबुले भ्यू होटल सञ्चालनमा आएको छ । होटलका सञ्चालकसमेत रहनुभएका होटल व्यवसायी महासंघका केन्दीय सदस्य एवम् सुर्खेत होटल व्यवसायी संघका महासचिव जनकसिंह ठकुरीले प्रदेशस्तरीय कार्यक्रमहरु, रारा जाने पर्यटक र अर्गानिक खानालाई मुख्य आधार बनाएको बताए । सुर्खेतमा व्यवसायको माग उच्च रहेकाले अझैठूला होटल खुल्ने उनले वताए । प्रदेश सरकारले होटल व्यवसायलाई हेर्ने दृष्टीकोण फरक भएको उनको गुनासो छ । अर्गानिक खाना उपलब्ध गराउनका लागी तथा पर्यटन वर्ष सफ पार्नका लागी होटल व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको भनाई छ ।
सुर्खेतमा साना–ठूला गरी १ हजार ५ सय वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा छन् । होटल व्यवसायी संघ सुर्खेतमा आवद्धमध्ये नौ वटा होटल–रेष्टुरेन्टलाई स्तरीय भनि वर्गीकरण गरिएको छ । जसमध्ये होटल भ्याली भ्यु, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यु होटल, होटल ए.याम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनी रिसोर्ट ‘क’ श्रेणीमा छन् । त्यस्तै, ५६ वटा होटल तथा रेष्टुरेन्ट ‘ख’ श्रेणीका छन् । जसमध्ये सम्राट गेष्ट हाउस, पुरानो माछापुच्छ्रे होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लज लगायतका छन् । बाँकी एक हजार तीन सय ७९ वटा होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा पर्ने होटल व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *