भक्तपुर, २१ माघ
‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम अस्पताल प्रांगणमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन र्गुँदै भक्तपुर नपाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले निजी क्षेत्र र एनजीओ÷आइएनजीओलाई सरकारले अस्पताल सञ्चालन स्वीकृति दिएकका कारण सरकारी अस्पतालको स्तरोन्नति हुन नसकेको बताए ।
स्वास्थ्य क्षेत्र सेवाको क्षेत्र भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले सेवा क्षेत्रमा स्वार्थी र व्यापरिक मानसिकताले कमिसन र नाफाको चलखेल बढिरहेको बताए । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलो नर्सिङ सेवाको स्वास्थ्य प्रतिवेदनअनुरुप भक्तपुरमा नसर्ने रोगको जोखिम बढिरहेको बताउदै उनले भक्तपुर क्यान्सर अस्पतालले देशभरिका क्यानसर रोगीहरुको सेवा गरिरहेको छ भने ।
भक्तपुर क्यानसर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर रोगको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याउदै सरकारले विपन्न तथा गरिबलाई दिंदै आएको आर्थिक सहयोगको साटो निःशुल्क क्यान्सर उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम, भक्तपुर क्यानसर अस्पतालका डा.रोशन प्रजापतिले धन्यवाद ज्ञापन मन्तव्य दिएको थियो भने डा.मुना कार्कीले पनि बोलेको थियो ।कार्यक्रममा अस्पतालका नर्स तथा डाक्टरहरुले जनचेतनामूलक नृत्य, नाटक, गीतलगायतका सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।