विद्यालय तथा कलेजको बारेमा स्थानीयसँग छलफल

समाचार

भक्तपुर, ७ पुस


वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीसँग छलफल सम्पन्न भएको छ । माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्वालिटी एसुरेन्स एकृडेटेसन प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले क्वालिटी एसुरेन्स एकृडेटेसन को महत्वमाथि प्रकाश पार्दै देशमा भएका १ हजार चार सय भन्दा बढी सामूदायिक कलेजहरुमध्ये हालसम्म ३६ कलेजले मात्र क्वालिटी एसुरेन्स एकृडेटेसन प्राप्त गरेको अवस्थामा अब वागीश्वरीले पनि पाउन अन्तिम चरणमा पुग्नु खुशीको विषय हो भन्दै यसले वागीश्वरी कलेजको सङ्ख्यात्मक र गुणात्मक विकासलाई समेत टेवा पुग्ने कुरामा दुईमत छैन भने ।
विगतमा बीबीएसतर्फ देशभरमै सर्वाधिक अङ्क हासिल गर्ने सङ्गीता बुद्धाचार्यलाई पोखरामा सम्मान गरेको जानकारी दिन्दै उनले पछिल्लो समय विश्वविद्यालय अनुदान आयोगले सबभन्दा बढी उत्तीर्ण दर बढेको आधारमा छयत्तर लाख पुरस्कार स्वरूप अनुदान प्राप्त भएको पनि जानकारी दिए ।
त्यस्तै ३ नं. प्रदेश सरकारले वागीश्वरी माविलाई नमूना विद्यालयको निम्ति छनोट गरेको सम्बन्धमा जानकारी दिन्दै वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले नमूनायोग्य कामहरुको बारे चर्चा गरे ।
छिमेकमा रहेका नाजुक विद्यालयलाई सबल बनाइदिने काम सिद्धिशारदा प्राविको उदाहरण दिन्दै अब ब्रह्मचारिणी प्राविलाई पनि सबल बनाउने प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए ।
देशका विभिन्न २७ जिल्लाबाट प्रअ तथा वि.व्य.स. पदाधिकारीहरुबाट वागीश्वरीमा अवलोकन भ्रमण आएको जानकारी दिन्दै गत पुस ४ गते नुवाकोटको मुकुण्देश्वरी माविको प्रअ तथा विव्यस टोलीले अवलोकन गरेको जानकारी दिए ।
१२ कक्षासम्ममा ३५ सयभन्दा बढी अध्ययनरत रहेको र एसईई देखि कक्षा ११ र १२ को नतिजा उत्साहजनक रहेको हुँदा सङ्ख्यात्मक र गुणात्मक दुबै हिसाबले राम्रा रहेको स्पष्ट पारे ।
कार्यक्रममा कलेजको तर्फबाट शिक्षक भानुभक्त हुमागाई र विद्यालयको तर्फबाट शिक्षक विश्वेश्वर मानन्धरले थप प्रकाश पारेको थियो ।
भेलामा स्थानीय टोलवासीहरुले वागीश्वरी कलेजमा बीएड र बीएस्सीको पनि पढाइ सञ्चालन गर्नुपर्ने, अङ्ग्रेजीलाई मात्र नभई नेपालीमा पनि जोड दिनुपर्ने, जगाती, कमलविनायक चोकमा पनि बोर्ड राख्नुपर्ने, शैक्षिक हातामा हरण निषेध र तीव्र गति नियन्त्रण गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
भेलामा स्थानीय ४ दर्जनभन्दा बढीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *