राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, नेमकिपाद्वारा मतदान नगर्ने निर्णय

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ फागुन

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

नेपाल मजदुर किसान पार्टीले मतदान नगर्ने निर्णय

नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालद्वारा हस्ताक्षरित विहीवार प्रकाशित विज्ञप्ति अनुसार राष्ट्रपतिका दुवै उम्मेदवारले वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, नेपाली सेनालाई भाडाको सिपाही बनाउने गार्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल भारत सन्धी, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती लगायत नेपालको हित विपरितका सन्धी सम्झौताहरु खारेज गर्ने प्रतिबद्धता नगरेकाले मतदान नगरेको स्पष्ट गरेको छ ।

त्यस्तै जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई बंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक, ७१ भन्दा बढी ठाउँमा भारतले अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता ल्याउने, नेपाली भूमि कालापानीमा ७० वर्षभन्दा अगाडिदेखि कब्जा गरी बसेका भारतीय सेनालाई हटाउने लगायतका विषयमा दुवै पार्टीले प्रतिबद्धता नदिएका कारणले नेमकिपाले मतदान नगर्ने निर्णय गरेको विज्ञप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *