भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

शिक्षा समाचार

भक्तपुर, ३० मंसिर


भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणस्तरले देशको विकास पनि तीव्रगतिमा अगाडि बढ्ने बताउँदै कुनै पनि ऐन–नियमहरु समाजकेन्द्रित हुनुपर्नेमा जोड दिए ।
नेपाल सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट अपुग भएको बताउदै प्रमुख प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिब जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको छ भने ।
सामुदायिक विद्यालयको स्तर राम्रो भए निजी विद्यालयमा स्वतः विद्यार्थीको चाप कम हुँदै जाने बताउदै प्रमुख प्रजापतिले भने – ‘विद्यार्थीहरुलाई देशभक्त बनाउन सके विद्यालय सफल रहेको ठहर्छ ।वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले माध्यमिक विद्यालय तहका विद्यार्थीहरुमा नैतिक शिक्षाको खाँचो आंैल्याउनुहुँदै विद्यालयहरुले सामाजिक दायित्व बहन गरी सो वरपर सामाजिक सूचनाहरु टाँस गर्न आह्वान गरे ।
कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौलाले नगरपालिकाको शिक्षा भनेको सामुदायिक र संस्थागत विद्यालयहरुको प्रतिबिम्ब भएको बताउदै भक्तपुर नगरपालिकाको शिक्षाबारे राष्ट्रियस्तरबाटै चर्चा हुन थाल्नु सकारात्मक भएको बताए ।
कार्यक्रममा प्याब्सनका तर्फबाट रमेशचन्द्र श्रेष्ठ, एनप्याब्सनका तर्फबाट पुण्यराम कवां, इसानका तर्फबाट पुरुषोत्तम ग्वाछाले पनि आ–आफ्नो विचार प्रस्तुत गरे ।
कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शैक्षिक वर्ष २०७६ मा नगर शिक्षा शाखाबाट सम्पन्न कार्य विवरण, भावी योजना, सूचनाहरु र विद्यालयले बुझाउनुपर्ने प्रतिवेदनहरु प्रस्तुत गरे ।
कार्यक्रममा नवआगन्तुक उपसचिव हरिप्रसाद निरौलालाई संस्थागत विद्यालयहरुको तर्फबाट स्वागत गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *