रौतहट, २९ मंसिर
मेसिन तथा औजारहरु मर्मत र सरसफाइ गरेपछि श्रीराम सुगर मिल्स गरुडाले उखु क्रसिङ्ग शुरु गथ्र्यो । प्रत्येक बर्ष मंसिर मसान्तसम्ममा यी काम सकेर पुसको पहिलो वा दोस्रो साताभित्रमा उखु क्रसिङ्ग हुन्थ्यो । तर यस पटक मिलले क्रसिङ्गका लागि तयारी नै नथालेपछि उखु किसान चिन्तामा छन् । खेतमा उखु तयारी अवस्थामा रहेपनि मिल संञ्चालन नहुँदा समस्यामा परेको उखु किसानको गुनासो छ । उखुको मुल्य निर्धारण, भुक्तानी जस्ता समस्याबाट चिन्तित भएका किसान यस पटक मिल नै बन्दको तयारी गरेपछि मर्कामा परेका हुन् । श्रीराम सुगर मिलले उखु क्रसिङ्गको लागि पूर्व तयारी नथालेका कारण मिल बन्द हुने हो की भन्ने चिन्तामा रहेको उखु् किसान लालबावु यादवले बताए । उखु क्रसिङ्गको तयारी पनि नगरेको र बन्द हुने सूचना पनि नदिएका कारण उखु किसान अन्योलमा रहेको उनले बताए । कार्तिका, माघे र खुट्टी, प्रजातीका उखु किसानले खेतमा लगाएका छन् । तर क्रसिङ्ग सिजनमा श्रीराम सुगर मिल संञ्चालनमा नआएपछि समस्यामा परेको उनीहरुको गुनासो छ । औपचारीक रुपमा सूचना जारी नभएपनि मिल बन्द गर्न लागेको जानकारी पाएको उखु उत्पादक संघ रौतहटका पूर्व अध्यक्ष जयनाथ यादवले बताए । मिलले उखुको भुक्तानी नदिएको अवस्थामा मिल नै बन्द गर्ने तयारीले किसान मर्कामा परेको उनले बताए । मिल संञ्चालनका लागि उद्योगी तथा मिल प्रशासनसँग आग्रह गर्दै आएको उनले जानकारी दिए । श्रीराम सुगर मिलले उखुको भुतmानी दिनु पर्ने र मिल संञ्चालनमा आउनुपर्ने किसानहको माग छ । चिनी बिक्री गर्ने तर किसानको रकम भुक्तानी नदिने भन्दै उखु उत्पादक संघले मिलको गोदाममा तालाबन्दी गरेको छ । ११ हजार क्विन्टल चिनी राखिएको गोदाममा तालबन्दी भएका कारण मिलले चिनी बिक्री गर्न नपाएको हो । भुक्तानी नदिएको भन्दै किसानले मिलको ३ लाख १३ हजार लिटर स्प्रिड समेत रोकेका छन् । तर किसानको बक्यौता रकम मिलले दिने प्रतिवद्धता गरेमा ताला खुल्ने र स्प्रिड बिक्री गर्ने दिने उखु उत्पादक संघ रौतहटले जनाएको छ । मिलले किसानलाई करीव ३७ करोड र अन्य खर्च गरी ६३ करोड भुक्तानी गर्न बाँकी रहेको श्रीराम सुगर मिलका बरिष्ठ कार्यालय साहयक श्यामानन्द यादवले बताए । पछिल्लो समयमा मिलले किसानको बक्यौता रकम दिदै आएको उनले जानकारी दिए । मिल बन्द गर्ने वा संञ्चालन गर्ने बिषयमा कुनै किसिमको जानकारी नआएको उनले बताए । यस सिजनको उखु क्रसिङ्गको तयारी मिलले नथालेका कारण कर्मचारी तथा मजदुर चिन्तामा छन् । मिलमा अहिले ३ सय ९५ जना कर्मचारी कार्यरत रहेको र बन्द भए समस्या हुने उनीहरुको गुनासो छ । २०६३ साल देखि घाटा व्यर्होदै आएको र झण्डै ६४ करोड घाटामा श्री राम सुगर मिल रहेको मिल प्रशासनले जानकारी दिएको छ । दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ्ग गर्ने क्षमता भएपनि मिलले पछिल्ला बर्षमा १५ देखी २० हजार क्विन्टल उखु क्रसिङ्ग गर्दै आएको थियो । यस बर्ष किसानले ८ हजार क्षेत्रफलमा उखु लगाइएको र अनुमानित उत्पादन १४ लाख क्वीन्टल हुने र सो बापत अनुमानित ६५ करोड ९६ लाख ८० हजार रुपैयाँ हुने मिल प्रशासनले जनाएको छ । २०५१ सालमा स्थापना भएको मिल बन्दको तयारीमा हुनु दुखद् रहेको रौतहट उद्याेग बाणिज्य संघले जनाएको छ ।
रौतहटको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजले यस बर्षको उखु क्रसिङ्ग सिजन शुरु गरेको छ । गत बर्ष देखि सञ्चालनमा आएको चिनी मिलले यस बर्ष २०७६/७७ को उखु क्रसिङ्ग बिहीवारबाट शुरु गरेको हो । यस बर्ष करीब २० लाख क्वीन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य राखी चिनी मिल शुरु गरिएको सञ्चालक बैजु बाबराले बताए । गत बर्ष करिब ४ लाख उखु क्रसिङ्ग गरीएको उनले बताए । गत वर्ष स्थापना भएको चिनी मिलमा नयाँ मेशिनरीहरु भएका कारणले विभिन्न समस्याले घाटा व्यहोर्नुपरेको उनले बताए । तर पहिलो क्रसिङ्ग सिजनको उखु कृषकको भुक्तानी गरिसकेको र केही कृषकहरुको बक्यौता रकम बाँकी उनले जानकारी दिए । उखु किसान समयमा बैक खाता नखोलेका कारण भुक्तानी गर्न अप्ठ्यारो भएको उनको भनाइ छ । केही कृषकले समयमै बैक विवरण चिनी मिलको प्रशासनमा उपलब्ध गराउन नसकेकाले बक्यौता रकम भुक्तानी दिन बाँकी रहेको उनले प्रष्ट पारे । यद्यपि कृषकले समयमै बैक विवरण बुझाएमा भुक्तानीकाे समस्या नरहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजले जनाएको छ । यस बर्ष मिलले गत बर्षको समस्या हुन नदिनका लागि मिलले मर्मतमा वा सरसफाइमा विशेष ध्यान दिएको जनाएको छ । चिनी मिलको क्रसिङ्ग सिजन शुरुसंगै स्थानीय उखु किसान खुशी छन् ।