सुँगुर मार्नेलाई ५ सय रुपैयाँ

समाचार स्वास्थ्य

राजविराज, २२ मंसिर


छाडा पशुचौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित भएपछि अहिले नगरपालिकाले त्यस्ता छाडा पशुचौपायालाई नियन्त्रण गर्ने कार्य सुरु गरेको छ ।
माइकिङ गरेर पशु धनीलाई पटक–पटक सचेत गराउँदा पनि समस्या समाधान नभएपछि पशुचौपाया नियन्त्रण सुरु गरिएको हो।
राजविराज नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार यादवका अनुसार राजविराजका मूल सडकबाट एकैदिन २५ वटा गाईगोरु नियन्त्रणमा लिइएको हो । ’व्यवस्थित कान्जी हाउस र पर्याप्त श्रोत साधन नहुँदा छाडा पशुचौपाया नियन्त्रणमा समस्या थियो,’ उनले भने, ‘अहिले भएको स्रोत साधन प्रयोग गरेर काम अघि बढाईएको छ।’
राजविराज नगरपालिकासँग हाल करिब १ सय चौपाया अटाउने कान्जी हाउस रहेको उनले बताए। पशु जिम्मा लिन आए सामान्य जरिवाना गरेर जिम्मा लगाइने र नआए आठौं दिनमा लिलाम गरिने नगरपाकिलाले जनाएको छ। ‘पहिलो दिन लिन नआए हरके दिन थप ५० रुपैयाँ र सातौं दिन १ हजार जरिवाना लाग्छ,’ यादवले भने, ‘आठौं दिन लिलाम गरेर पशुचौपाया हटाइने छ । सुँगुर नियन्त्रणमा भने नगरपालिकाले कठोर निर्णय लिएको छ । छाडा सुँगुर भेटिए नियन्त्रण नगरी मार्ने निर्णय गरिएको छ । एउटा सुँगुर मारे बापत ५ सय रुपैयाँ प्रोत्साहन बापत उपलब्ध गराइने यादवले बताए । राजविराजमा साँढे तथा घरपालुवा गाई, गोरु, सुँगुर र बाख्रापाठाको आतंक छ । छाडा पुशचौपायाकै कारण सडकमा अवरोध र दुर्घटना बढेको प्रहरी नायब निरीक्षक (सइ) नन्दकिशोर मण्डल बताउँछन् ।

नगरबासीले घरका गाई, गोरु, बाख्रा र सुँगुर सडकमा छोड्ने चलन बढेको छ । चौपायाले साइकल, मोटरसाइकल, रिक्साजस्ता सवारीसाधन पल्टाइदिने गर्छन्। यस्तै सवारीसाधनले पनि पशुचौपायालाई ठक्कर दिएर घाइते बनाउने गरेको मण्डलको भनाइ छ। सोही समस्या सामाधानका लागि राजविराज नगरपालिकाको सहकार्यमा पशुचौपाया नियन्त्रण अभियान सुरु गरिएको उनले जानकारी दिए । विगत वर्षहरूमा पनि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको भए पनि निरन्तरता पाउन नसक्दा नगरवासी छाडा गाई, भैँसी, बाछाबाछी, साँढे र सुँगुरबाट आतङ्कित बनेका थिए । नगरपालिकाले फेरि यस्तै अभियान सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै नागरिक संजालका अध्यक्ष सुखराम यादव भन्नुभयो,अभियान राम्रो छ, खुसी लागेको छ । नगरवासीको चाहना पनि यही हो तर निरन्तरता दिनुपर्छ ।’ छाडा गाईबस्तुले खुला हाट बजारका पसल, सागसब्जी र फलफूल पसलमा क्षति पु¥याउनुका साथै पैदलयात्रु र सवारी साधनको आवागमनमा बाधा पु¥याएका थिए । विगतमा गाईवस्तुको धक्काबाट धेरै व्यक्ति घाइतेसमेत भएका छन् । नगरका चौपाया धनीले गाई, बाछाबाछी, बाख्रा चरिचरन गर्न सडकमा छाडा छाड्ने चलनले सवारी दुर्घटना र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि राजविराज नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण गर्न सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *