प्यूठान, २८ कार्तिक
घरको काममा सिमित रहेका प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरु दुना टपरी उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् । उनीहरुले बन जङ्गलमा खोर गइरहेको सालका पातहरुलाई सदुपयोग गरी दुना टपरी उद्योग सञ्चालन गरेका छन् । खाली समय सदुपयोग गरी आत्मनिर्भर बन्ने उद्देश्यले प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरुले उद्योग सञ्चालनमा ल्याएका हुन् । दाखाक्वाडीका १४ जना महिलाले सामुहिक रुपमा उद्योग सञ्चालन गरी आम्दानी गर्न थालेको महिलाहरुले बताएका छन् ।
देबिस्थान दुना टपरी लघु उद्यमी समुह गठन गरी सामुहिक रुपमा सञ्चालन गरिएको उद्योग सञ्चालन गरेको समुहकी अध्यक्ष मिना धामीले बताइन् । सामुहिक रुपमा सञ्चालन गरिएको उद्योगबाट दैनिक एक हजार दुना टपरी उत्पादन गर्ने गरेको अध्यक्ष धामीले बताइन् । सुरुमा उद्योग सञ्चालन गर्दा चल्दैन की भन्ने चिन्ता थियो तर अहिले उद्योगबाट राम्रो आम्दानी भएको छ धामीले भनिन् । प्यूठान नगरपालिकाको आर्थिक तथा प्राििबधीक सहयोगमा ग्रामीण आर्थिक मञ्च (रेकोडफ)ले महिलालाई उद्यमशीलता र सीप बिकास तालिम दिएपछि महिलाले सामुहिक रुपमा यो उद्योग सञ्चालन गरेका हुन । गाउँमै यो उद्योग सञ्चालन गरी छोराछोरीलाई पढाउन, घर खर्च चलाउन सजिलो भएको उद्योगकी सदस्य बिष्णु धामीले बताइन् ।घर खर्च चलाउन, छोराछोरी पढाउन धौ धौ हुन्थ्यो तर अहिले सहज भएको छ’ उनले भनिन् । उद्योगलाई समय दिनुपर्छ भन्ने छैन् घरको काम गरेर बचेको समयलाई उद्योगमा सदुपयोग गर्ने गरेको उनी बताउछिन् । उनीहरुले उत्पादन गरेको दुनाको मुल्य प्रतिगोटा दुइ रुपैया र टपरीप्रतिगोटा पाँच रुपैया तोकेको उनीहरुले बताए । दुना टपरी उत्पादनका लागि तालिम दिने सहयोगी संस्थाले १ लाख ३५ हजार ६१५ रुपैयाको मेसिन समेत उपलब्ध गराएको छ । स्थानीय महिलालाई स्वरोजगार बनाउने उदेश्यले प्यूठान नगरपालिकाले स्वरोजगारमुलक कार्यक्रम तथा तालिम समेत सञ्चालन गर्ने गरेको प्यूठान नगरपालिकाले जनाएको छ ।