उपत्यकास्थित बागमतीसमेतका नदीहरूको संरक्षणको विषयमा छलफल कार्यक्रम

विशेष समाचार समाचार

भक्तपुर, २१ कार्तिक


नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकास्थित बागमती समेतका नदीको संरक्षणका लागि सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन र प्रतिवेदन पेश गर्ने सम्बन्धमा उपत्यकाका स्थानीय निकायका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित सरोकारवालाहरूबीच बुधबार छलफल कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा महान्यायधिवक्ता अग्नी खरेलले बागमती फोहर हुनुमा उपत्यकाबासीहरू जिम्मेवार भएको बताउँदै बागमती सभ्यता भएको हुँदा यसलाई संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए । साना नदीमा भएको प्रदूषण रोक्न सकेनौं भने ठूलो नदी सफा गर्न असम्भव भएको बताउदै उनले सर्वोच्च अदालतले बागमती सभ्यता अभियानलाई गम्भीरताका साथ अध्ययन गरिरहेको बताए ।
महान्यायाधिवक्ता खरेलले बागमती नदी सफाइमा ढल व्यवस्थापन चुनौतीको रुपमा रहेको जिकिर गर्दै बागमती सभ्यतालाई जीवन्त पार्ने अभियानमा सम्बन्धित सबै स्थानीय तह र सरोकारवालाहरू आपसी समन्वय र सहकार्यको खाँचो औंल्याए ।
छलफल कार्यक्रममा भाग लिँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बागमती सफा गर्न सिमाना जोडिएर रहेका स्थानीय तहहरूले आपसी समन्वय गर्नु आवश्यक भएको बताए । काठमाडौं महानपाको उद्देश्य बागमती लगायतका सहायक नदीहरूलाई स्वच्छ बनाउने उद्देश्य रहेको प्रस्ट पार्दै उपत्यकाका सांस्कृतिक सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका कार्यहरूमा राज्य संयन्त्रको असहयोग रहेको दुःखेसो पोखे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यका समेतका नगरहरुभित्रका नदी जलप्रवाहमा व्यवस्थासम्बधी कार्य, नदी किनारका दुवै क्षेत्रमा २० मि. तटीय क्षेत्र कायम गरी सिमांकन गर्ने कार्य, २०२१ सालको सर्वे नापीलाई आधार मानी नदी तटको अतिक्रमित जग्गा पत्ता लगाउने कार्य, दीर्घकालीन रुपमा ढल प्रशोधन केन्द्रको योजना बनाई कार्य गर्ने सम्बन्धी कार्य, नदी पोखरीको संरक्षणसम्बन्धी कार्य, सेफ्टी ट्यांकीको सुनिश्चितता गरेर मात्र घरको नक्सा पास गर्ने कार्य, फोहर व्यवस्थापनको कार्य र नदीहरुको वातावरण संरक्षणलगायतका विषयमा भक्तपुर नगरपालिकाबाट सम्पन्न भएका र कार्यान्वयन भइरहेका विवरणहरु प्रस्तुत गरे ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सम्पन्न भएका र कार्यान्वयन भइरहेका विवरणहरू प्रस्तुत गर्दै भने– ‘उपत्यकाका नगरपालिकाहरूले आफ्नो क्षेत्रको फोहरमैला व्यवस्थापनमा आफै व्यवस्थित ढंगले गर्नु आवश्यक छ ।’
भक्तपुर नगरपालिकाले खोला सुधार कार्यअन्तर्गत प्रत्येक वर्ष खोलाको माटो पन्छाउने कार्य र सरसफाई कार्य गर्दै आउनुको साथै रिटेनिङ वालहरू बनाउने कार्य भइरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले सल्लाघारी पुलदेखि जस्तिके पुलसम्म हनुमन्त्ते खोलाको माटो पन्छाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ भने ।
नगर क्षेत्रभित्र नदी किनारको घर नक्सा पास गर्दा नदीको किनारबाट २० मि. तटीय क्षेत्र कायम हुने गरी मात्र नक्सा पास गर्दै आएको अवगत गराउदै प्रमुख प्रजापतिले नगरपालिकाबाट सञ्चालित आवास योजनाहरूमा नदीको किनारमा २० मि. तटीय क्षेत्र हुने गरी तटबन्ध निर्माण गरी योजना कार्यान्वयन भइरहेको छ भने ।
२०२१ सालको सर्भे नापीलाई आधार मानी नदी तटको अतिक्रमित जग्गा पत्ता लगाउन आवश्यक गृहकार्य भइरहेको, हनुमन्त्ते नदी सिमांकन गर्न नदी किनाराका जग्गावालाहरूको बैठक राखी अतिक्रमित जग्गा फिर्ता गराउनु आवश्यक पहल भइरहेको छ – नगर प्रमुख प्रजापतिले भने ।
उनले दीर्घकालीन ढल प्रशोधनको लागि सल्लाघारी र इनाचोमा उपचार पोखरी निर्माण गरी सञ्चालन तयारी भइरहेको जानकारी दिदै भने – ‘पीआईडीअन्तर्गत हनुमन्त्रे खोला छेउमा ढल व्यवस्था गर्न ह्युम पाइप बिछ्याउने कार्य भइरहेको छ ।’
नगर क्षेत्रका पोखरी र नदी संरक्षणार्थ भाज्या पोखरी पुनःनिर्माण, रानी पोखरी पुनःनिर्माण, पुखुचा हिटी पुनःनिर्माण, महेश्वरी क्षेत्रमा घाट निर्माण र रिटेनिङ वाल बनाउने कार्य सम्पन्न भइसकेको उहाँले बताए ।
उनले एडीबीको बजेटबाट हनुमानघाट क्षेत्रमा घाट निर्माण कार्य भइरहेको, गयःभिंद्यो (भेलुखेल) क्षेत्रमा हनुमन्त्ते खोलामा पुनःनिर्माण कार्य भइरहेको र जग्गा एकीकरण आयोजनामा नदी तटमा रिटेनिङ वाल निर्माण कार्य पनि तीव्र रुपमा अगाडि बढिरहेको बताए ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका क्षेत्रअन्तर्गत विस्तारित आवास क्षेत्र, व्यापारिक क्षेत्र र औद्योगिक क्षेत्रमा सेफ्टी ट्यांकीसहितको नक्सामात्र दर्ता गरी पास गरिरहेको, सेफ्टी ट्यांकी र सोकपिट निर्माण भएको अवस्थामा मात्र निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने प्रावधान रहेको बताए ।
प्रमुख प्रजापतिले नगरको फोहर व्यवस्थापन गर्न घर घरबाटै कुहिने र नकुहिने फोहर छुट्याउन आवश्यक बाल्टिन वितरण गरी फोहर न्युनीकरण भइरहेको, कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन भइरहेको, सानो सानो स्केलमा नकुहिने फोहर व्यवस्थापन भइरहेको र फोहर न्युनीकरणको लागि जनचेतनामूलक कार्यक्रमहरू भइरहेको बताए ।
फोहरमैला व्यवस्थित रुपमा तह लगाउन विस्तृत रुपमा अध्ययन गरी कार्ययोजना तयार गर्नको लागि विज्ञहरूको कार्यदल गठन गरी अध्ययन भइरहेको, कार्यदलसँग सहकार्य गरी पाइलट प्रोजेक्टको रुपमा २ वटा शैक्षिक संस्थामा फोहरलाई कुहिने र नकुहिने छुट्याइ संकलन भइरहेको बताउँदै उनले ट्रान्सपोर्ट स्टेशन विकास गर्ने कार्यक्रम सञ्चालन गर्न गृहकार्य भइरहेको बताए ।
उनले नदी क्षेत्रको वातावरण संरक्षणको लागि तटीय क्षेत्रहरूमा वृक्षारोपण र सरसफाइ कार्य भइरहेको र तटबन्ध निर्माण कार्य पनि अगाडि बढिरहेको छ भने ।
कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय निकायका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृतलगायतद्वारा नदीमा फोहर फाल्ने कार्य र नदी वरपरका अतिक्रमणकारीका कारण नदी फोहर भएको, सेफ्टी ट्यांकी नभएका घरलाई नक्सा पासमा स्वीकृति नदिएको, जनसंख्या वृद्धिका कारण फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण रहेको, फोहरमैला व्यवस्थापन कार्यमा स्थानीय जनताहरूकै बीचबाट व्यापक विरोधका कारण काम गर्न कठिनाई भएको, स्थानीय तहहरूले पोखरी सफा बनाउन ट्रीटमेन्ट प्लान्ट बनाउनु आवश्यक भएकोलगायतका धारणा व्यक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *