ग्रान्डस्लामको सपना पछ्याउँदै नेपालकी :नम्बर एक टेनिस खेलाडी प्रेरणा कोइराला

खेलकूद समाचार

काठमाडौं, २८ असोज


टेनिस खेलाडी प्रेरणा कोइराला चार महिनादेखि भारतको अहमदाबादमा छिन्। मंसिरमा हुन लागेको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि १७ वर्षीया प्रेरणाले आफ्नै खर्चमा अहमदाबादको अल टेबल एकेडेमी मा प्रशिक्षण सुरू गरेकी हुन्।
भारत पुगेपछि प्रेरणाको महत्वाकांक्षाको पारो चढेको छ। टेनिस संस्कृतिमा भिजिरहेकी उनले अब ग्रान्डस्लामु खेल्ने लक्ष्य लिएकी छन्।
टेनिसको उच्च तहको प्रतिस्पर्धा ग्रान्डस्लाम वर्षमा चारवटा हुन्छ। अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपनमध्ये कुनै एउटामा प्रतिस्पर्धा गर्नु हरेक टेनिस खेलाडीको सपना हो। यो सपना पूरा गर्न अन्त्यन्त कठिन भएको प्रेरणाले बुझेकी छन्। भन्छिन्, मेहनत गर्‍यो भने असम्भव देख्दिनँ। सन् २०१७ मा सिटिजन्स ओपन टेनिस प्रतियोगितामा महिला एकलतर्फ उपाधि जितेपछि प्रेरणाले कुनै प्रतियोगिता हारेकी छैनन्। त्यसयता लगातार छवटा उपाधि जितिसकेकी छन्। गत वर्ष आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला एकलको उपाधि जितेपछि उनी साग तयारीका लागि प्रारम्भिक टिममा परिन्।गत जनवरीमा एकमहिने प्रशिक्षण लिन अहमदाबाद गएकी थिइन्। राम्रो लागेपछि सागलाई लक्ष्य गरेर छ महिने प्रशिक्षणमा भर्ना भएको उनी बताउँछिन्। उनले पहिलो तीन महिनाका लागि पाँच लाख रुपैयाँ बुझाइसकिन्। बाँकी पाँच लाख बुझाउन बाँकी छ। सबै खर्च उनको व्यक्तिगत हो। खेलकुद परिषदबाट केही सहयोग पाए भरथेग हुन्थ्यो भन्ने उनलाई लाग्छ।एकेडेमीमा आएका सबै खेलाडी ग्रान्डस्लाम कसरी खेल्ने भनी कुराकानी गर्छन्। प्रशिक्षकहरू पनि आफ्ना खेलाडीलाई ग्रान्डस्लाम पुर्‍याउने योजनामा हुन्छन् सागको अन्तिम छनोटमा दसैंअघि काठमाडौं आएकी प्रेरणाले भनिन्।आइटिएफ वरियतामा राम्रो स्थान ल्याए जुनियर ग्रान्डस्लामका लागि छनोट भइन्छ। जुनियरमा राम्रो अंक ल्याउन सके सिनियर खेल्ने अवसर आउँछ, प्रेरणाले सोझो उत्तर दिइन्।
महिला टेनिसका लागि अन्तर्राष्ट्रिय टेनिस फेडरेसन (आइटिएफ), एसियन टेनिस टुर (एटिटी), वुमेन्स टेनिस एसोसिएसन टुर (डब्लूटिए) लगायत व्यावसायिक प्रतियोगिता हुन्छन्। यी प्रतियोगिता राम्रो खेले वरियतामा सुधार आउँछ। त्यही वरियताका आधारमा ग्रान्डस्लाम खेल्न सकिन्छ।ग्रान्डस्लाम खेल्न हजारौं खेल जित्नुपर्छ, प्रेरणाले भनिन्, बरु हार्छु अनि फेरि खेल्छु, तर कहिल्यै रोकिन्नँ।
प्रेरणाको बलियो पक्ष आक्रामक खेल्नु हो। यो शैली भारतीय क्रिकेट कप्तान विराट कोहलीबाट सिकेको उनी बताउँछिन्। कोहलीको एग्रेसन उनलाई मनपर्छ। स्कुल पढ्दा उनी क्रिकेट खेल्थिन्। आइडियल मोडल स्कुलकी विद्यार्थी उनी क्रिकेट सिक्न कीर्तिपुर पुग्थिन्। उनको स्कुलबाट जानेमा तीन जना मात्र केटी थिए। उनी अरू स्कुलबाट आएका केटीसँग टिम मिलाएर खेल्थिन्।प्रेरणा तीव्र गतिकी बलर थिइन्। ब्याटिङ पनि गर्थिन्। अभ्यास गर्दा धेरैपटक विपक्षीको स्टम्पु ढालेको उनी सम्झन्छिन्।
पाँच वर्षअघि उनका पिता पुरुषोत्तमले टेनिस प्रशिक्षक राजकुमार लामालाई भेटाइदिए। त्यसपछि उनी क्रिकेट छाडेर टेनिसतिर मोडिइन्।सुरूमा निकै गाह्रो भयो। खेल्न सक्दिनँ कि भन्ने लागेर आठ महिना यसै बसेँ,सन् २०१४ मा पहिलोपटक र्‍याकेट समातेर टेनिस कोर्टमा ओर्लिंदाको अनुभव बाँड्दै उनले भनिन्, र्‍याकेट, बल र कोर्टको तालमेल मिलाउन हम्मे पर्‍यो।
उनी विस्तारै उमेर समूहका प्रतियोगिता खेल्न थालिन्। देशबाहिरका प्रशिक्षणमा जाने मौका जुर्‍यो। एक वर्षपछि यु(१४ को दुई साताको क्याम्पमा थाइल्यान्ड गइन्। ुखेलकुदका अन्य विधाभन्दा टेनिसमा महिलाको भविष्य राम्रो हुन्छ भन्ने लाग्यो,भन्छिन्।
प्रेरणाले पढाइ र खेल सँगसँगै अघि बढाएकी छन्। बाह्र कक्षा अध्ययनरत उनी ८ कक्षादेखि नै स्कुल जान छाडेकी हुन्। घरमै तयारी गरेर जाँच भने दिइरहिन्।
टेनिसमा लागेको पाँच वर्षमै नम्बर एक खेलाडीको दर्जा बनाएकी प्रेरणा यसको जस आफ्ना बुबालाई दिन्छिन्।हार्नु ठूलो कुरा होइन, राम्रो खेल्नु ठूलो कुरा हो भनेर बुबा भन्नुहुन्थ्यो,उनी भन्छिन्,यसले मनमा इख पलायो। अब जित्नुपर्छ, राम्रो खेल्नुपर्छ भन्ने लाग्न थाल्यो।
यसैको प्रभावले होला, पछिल्ला दुई वर्षमा उनले नेपालमा भाग लिएका कुनै प्रतियोगिता हारेकी छैनन्। अब उनीमाथि आगामी सागमा विदेशी खेलाडीलाई हराउने चुनौती छ। सागमा भारतीय र श्रीलंकाली खेलाडीलाई उनले मुख्य प्रतिस्पर्धीका रूपमा लिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *