सुनसरी, २८ असोज
विकासका कामहरु समयमै पुरा हुन नसक्दा अहिले पुर्वकै मुख्यकेन्द्र इटहरी उपमहानगरपालिकाका स्थानीयहरु धुलोले आक्रान्त बनेका छन् । पछिल्लो समय विकाशका नाममा सडकहरु खन्ने भत्काउने गरे पनि निर्माण पुरा नहुँदै जथाभावी काम बन्द भए पछि इटहरीका बाटो धुलाम्मे हुने गरेका छन् । वर्खामा पानी जमेर हिड्नै नसक्ने अवश्थामा रहन्छ भने घाम लागेको समय धुलो उडेर बाटोनै धमेलिने गरेको छ ।इटहरी पुर्वकै मुख्यकेन्द्र विन्दुमा रहेको शहर हो । अत्याधिक मात्रामा सवारी साधनहरुको आवागमन भइरहन्छ । इटहरीको बढ्दै गएको सवारी साधनको चाप अनुसारको सडक व्यवस्थापन र निर्माण कार्यलाई गति दिन नसक्दा धुलो उडेर मुख छोपेर हिड्न बाध्य छन् भने बाटो नदेखिन गरि धुलो उड्दा दुर्घटनाको समेत जोखिम बढेको छ । पैदल यात्रुहरु सडकमा हिड्दा धुलोको कारण स्वरुपनै परीवर्तन हुने गरेको स्थानीय खड्क श्रेष्ठ बताउँछन् ।
बजारको बिचैबाट गएको महेन्द्र राजमार्ग अन्र्तगतका सडक विस्तारको क्रममा रहेको छ । राजमार्ग अतिक्रमण गरि बनेका घरटहराहरु भत्काएर बाटो चौडा गर्ने योजना अघि बढेको छ । तर योजना अनुसारको निर्माण कार्य समयमै हुन नसक्दा धुलो र हिलोले आक्रान्त बन्नु परेको हो ।
अस्तव्यस्त सडक जताततै पानी जमेका खाल्डा खुल्डीसंगै सडक जाम लगायतका कारण इटहरीको मुख्य सडक क्षेत्रको यात्रा आफैमा जोकोहीलाई पनि दिकदार लाग्ने गरेको छ । इटहरीमा विकासको गति भने अहिलेपनि कछुवाको चालमा छ । अस्तब्यस्त सडक निर्माणको कामले पनी राजमार्गमा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।
उपमहानगरपालिकाले हरित शहर बनाउने घोषणा गरेको छ । तर योजना अनुसार काम गर्न नसक्दा स्थानीय निकाय मौन बसेको स्थानीयको गुनासो छ ।
भत्काइएका सडकबाट निस्किएको धुलोका कारण इटहरीमा स्वास्थ्यको समस्या देखिन थालेको श्रेष्ठको भनाई छ । निर्माण कार्यहरु दु्रत गतिमा अगाडी बढ्ने हो भने आम नागरिकले सास्ती पाउने थिएनन् । धेरै ठुलो बजेटमा काम अघि बढेपनि व्यवस्थापन गर्न नसक्दा समस्या आएको स्थानीयको आरोप छ ।
इटहरी धुलो धुवाग्रस्त हुनुमा ६ लेन सडक बिस्तारको काम रोकिनु पनि कारण रहेको ईटहरी उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर अर्जुन दाहाल बताउँछन् । सडक विस्तार गर्ने क्रममा बजार क्षेत्रमा सिमाकंनमा विवाद भए पछि ६ लेन सडक विस्तार इटहरी बजार क्षेत्रमा आएर रोकिएको छ । उनले भने, ‘६ लेन सडकको काम रोकिएको छ, त्यो सडक विभागले गर्ने हो, त्यसैले पनि बजार क्षेत्र धुलो धुवाको प्रदुषण बढेको छ, उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने दैनिक जसो पानी हालेर धुलो न्युनिकरण गर्दै आईरहेको छ ।’
यता राजमार्ग अन्र्तगत रहेका अतिक्रमित घर टहरा भत्काउँदै बनेका सडकहरुलाइ व्यवस्थापन गर्न दशै बिदा परेकाले काम अघि नबढेको उनको भनाई छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी नेपाल बाहिर गएकाले उनी आए लगत्तै तिहार पनि काम अघि बढ्ने उनको भनाई छ ।