पर्वत, २८ असोज
गैह्र आवासीय नेपालीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजले पर्वतका तीन ग्रामीण क्षेत्रमा प्रसुती अस्पताल निर्माणका लागि सहयोग गर्ने भएको छ । बिहिवार जिल्लाको पैयुँ गाउँपालिकामा भएको भेलाले प्रसुती अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।प्रवासी नेपालीहरुले लण्डन, यूएई, जापान, बेल्जियम लगायतका देशमा गरेको च्यारिटी कार्यक्रम गरि संकलन गर्ने रकमबाट जिल्लामा प्रसुती अस्पताल निर्माण गर्ने योजना तय भएको समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिए । गिरीका अनुसार पैयुँ गाउँपालिकाको केन्द्र हुवास, फलेवास नगरपालिका १ को कार्किनेटा र जलजला गाउँपालिका ७ मिलनचोकमा प्रसुती अस्पताल निर्माण गर्न थालिएको हो ।
‘हामीले अहिले सम्म च्यारिटी कार्यक्रम गरेर डेढ करोड संकलन गरेका छौँ,’ गिरीले भने,’ थप एक करोड संकलन गर्ने लक्ष्य छ ।’ उनले चालु वर्ष नै प्रसुती गृह निर्माणको काम थालिने बताए ।ग्रामीण क्षेत्रमा प्रसुती अस्पताल नहुँदा महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल बनाउने योजना अगाडी सारेको समाजका महासचिव गुणराज शर्माले बताए । ‘दुई चार लाख विरामीलाई उपचारमा सहयोग गरेको देखिँदो रहेनछ,’ शर्माले भने,‘ त्यो भन्दा उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल नै बनाउँदा फलदायी हुने देखेर सहयोग गर्ने सोच बनाएका हौँ ।’ प्रसुती अस्पताल नहुँदा जिल्लाका महिलाहरुलाई हेलिकोप्टर चार्टर गरि पोखरा, काठमाण्डौ पु¥याउनुपर्ने बाध्यताको अन्त्यका लागि ग्रामीण क्षेत्रमा प्रसुती अस्पताल बनाउने समाजको योजना रहेको शर्माले जनाए । समाजले हुवासमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र पर्वत अस्पताललाई पनि आवश्यक उपकरण सहयोग गर्ने भएको छ ।
अन्तराष्ट्रिय पर्वत समाजको अभियानलाई गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले पनि सघाउने भएको छ । (एनआरएनए) का उपाध्यक्ष कुल आचार्य अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार हुन् । हाल अध्यक्षको उम्मेदवार बनेका आचार्यको भिजन अनुसार नै पर्वतमा अस्पताल बनाउने अवधारणा बनेको समाजका अध्यक्ष गिरीले बताए । पूर्वाधार निर्माणमा प्रवासी नेपालीले सहयोग गरेपनि व्यवस्थापनको जिम्मा भने स्थानीय तहलाई दिईने उनले जानकारी दिएका छन् ।