न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ भदाै
भदौ ६ गतेदेखि १० गतेसम्म चालु रहेको परम्परागत नाचगान एवं आधुनिक विधाहरूको मूल्याङ्कन कार्य सोमबार राति सम्पन्न भयो । परम्परागत नाचगान, वाद्यवादन, नृत्य, ख्याल र नाटकका जानकार व्यक्तिहरू सम्मिलित टोलीले गरेको मूल्याङ्कनको आधारमा मूल्याङ्कन स्थलमा प्रस्तुत विधाहरू पुरस्कृत हुनेछन् । नगरको तीन ठाउँमा गरिएको उक्त मूल्याङ्कन स्थलमा टोल टोलमा रहेका नाचगान, नृत्य तथा आधुनिक विधाहरू देखाइएको थियो ।
प्राप्त जानकारीअनुसार यस वर्षको यो सापारु पर्वमा घिन्ताङघिसीको दिनबाहेक ख्याल, नाटक, गाइँचा, फाकंदली, भालु, हनुमान, माक, साँय् सामिचा, लाहुरे, हुला, झ्याउरे नाच देखाइएको थियो । त्यस्तै लुसी, कलाँली, देवी, ख्याल, कवांचा, शेरसिंह, दैत्य, लाखे, ख्या, जङ्गली, भैल, नागाचा, व्यङ्ग्यात्मक गीत, किजापूजा, कपाय् फेनेगु पनि देखाइएको थियो । किजापूजा र कपाय् फेनेगु यस वर्षको नयाँ आकर्षण रहेको छ । उक्त विधालाई अझ परिस्कृत गर्न सके धेरै रोचक हुनेछ र पहिलेदेखिको पुरानो रीति नयाँ पुस्ताले पनि थाहा हुनेछ ।
हरेक जस्तो टोलबाट प्रस्तुत भएको उक्त नाचगान, नृत्य, ख्याल, नाटक आदि विधा हजारौँ दर्शकहरूले हेर्ने अवसर पाए । विधामा हजारभन्दा बढी कलाकारहरू सहभागी भए । नाच्ने, वाद्यवादनमा सरिक हुने, गीत गाउने र सँगै आउने स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागितामा सो कार्यक्रम सम्पन्न भएको छ । उक्त विधा कतिले महिना दिनदेखि तयारी गरेका थिए । यस विधाको पछाडि टोलका वाद्य गुरु, नाचगान गुरु, नृत्य गुरु र गायकहरूको पनि उल्लेखनीय योगदान रहेको छ । नाच र नृत्य सिकाउने गुरु, गाउने गायक र गीत, नाटक र ख्याल लेख्ने साहित्यकारहरूको योगदान पनि उत्तिकै रहेको छ । सापारुको निश्चित रुटमा रहेका स्थानमा विभिन्न समूहरूले आ–आफ्नो टोलमा रहेका विधाहरू देखाउनु र देखाउन गरिएको आवश्यक तयारीलाई महत्वपूर्ण कदम मान्नुपर्छ ।
आधुनिक विधाका विभिन्न नृत्य, ख्याल, नाटक, व्यङ्ग्यात्मक प्रस्तुतिहरूमा लेखक र साहित्यकारहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा गीत लेखे; समाजमा व्याप्त अन्धविश्वास, कुरीतिको विरोध गर्दै बाल्यकालदेखि ज्येष्ठ नागरिकहरूले भोगिरहेको कथाव्यथा पनि गीतमा प्रस्तुत गरे । साम्राज्यवादी शक्ति राष्ट्रहरूले स्वाधीन र सार्वभौम देशमा गरिरहेको आक्रमण, अतिक्रमण, वम वर्षा गरी गरिएको नरसंहारको विरोध गीतमा रहेको छ । अनेक विकास र आर्थिक सहयोगको लोभ देखाएर सीमा मिच्ने, एकतर्फी बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पार्ने, नेपाली बस्ती उठाएको बारे पनि गीतमा प्रस्तुत गरिएको छ । जनताका जल्दोबल्दो समस्या, महँगी, अभाव, विषादी, नक्कली सामान, ठग, भ्रष्टाचारी, कमिसनखोर, विदेशी दलालहरूको बिगबिगीबारे पनि गीत लेखेर जनतालाई सुसूचित पार्ने काम भएको छ । यसको आधारमा सापारुमा देखाइएको विभिन्न नाचगान, नृत्य, ख्याल, नाटक देखाउने हरेक चोक चोक जनतामा सचेतता ल्याउने प्रशिक्षण केन्द्रझैँ बनेको छ । प्रस्तुत विधामा साना बाबुनानीदेखि उमेर पुगेका पुरुष र महिला पनि सरिक भएका छन् । यस हिसाबले टोलका मुख्य मुख्य चोक यो जात्रा चेतना जगाउने, सुसूचित पार्ने, खबरदारी गर्ने, घोचपेच गर्ने थलो बनेको छ; मनोरञ्जनात्मक, उपदेशमूलक प्रदर्शन गर्ने थलो बनेको छ ।
यस कार्यलाई भक्तपुर नगरपालिकाले आवश्यक व्यवस्था गरेको छ । नपाले उत्कृष्ट तथा सहभागी टोलीलाई उचित पुरस्कारको व्यवस्था गरेर उत्साहित गर्ने काम गरेको छ । उक्त पुरस्कारबाट धेरैले नाचगानको लागि बाजा, पोशाक, गहना आदि व्यवस्था गरेका छन् । मूल्याङ्कनको व्यवस्थाले लोप हुन लागेका नाचगानहरू देखाउने थालेका छन् । लोप हुन लागेका कति नाचगानहरू अझै प्रस्तुत भएका छैनन् । विशेषगरी प्रस्तुत नाचगान तथा नृत्यहरूमा विद्यालयका छात्राहरू अधिकांश देखिएका छन् । नयाँ नयाँ भाइबहिनीहरूको उपस्थितिले यहाँका नाचगान, वाद्यवादन र नाच्ने कला नयाँ पुस्तामा हस्तान्तरण हुन थालेको महसुस गर्न सकिन्छ । नाचगानमा समाजमा पच्न नसकिने दृश्य र गीतहरू सामेल गर्न नहुने कुरामा सबै सचेत हुनुपर्छ ।