दशैंले मुखिया परिवारमा थपेको दर्द, शारीरिक अशक्त मुखियाको दशैं कष्टकर बन्दै

समाचार

 

राजविराज, १४ असोज
वर्ष दिनपछि आएको नेपालीहरुको महान पर्व वडादशैंले सबैको घरमा खुशी छाएको छ । शहरका घरहरुलाई झक्कमक्क पार्ने तयारी थालिएको छ भने गाउँका अधिकांश घर रातो र सेतो माटोले पोतिएका छन् । कोही खसी काट्न त, कोही चीउरासँग मिसाउन केरा खोज्न व्यस्त छन् । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुराका डोमी मुखिया परिवारले यस वर्ष पनि दशैं आएको अझैसम्म पत्तै पाएको छैन् । शारिरीक अशक्त भएका कारण आफन्तले नै हेला गर्न थालेपछि केही वर्षअघि मात्रै मुखियाले राजविराज वडा नम्वर ११ स्थित झुपडी ठड्याएर जसोतसो गुजारा चलाउँदै आएका छन् ।

‘भाइहरुले हेला गर्न थालेपछि बाबुआमालाई माया लागेर केही ठुला व्यक्तिहरुसँग सहयोग गुहार्दै १० वर्षअघि यहाँ सानो झुपडी ठड्याइदिनुभयो, र आफु बाबुआमासँगै यही बस्न थाले’ मुखिया भने–‘एक वर्षअघि आमा पनि वित्नुभो, र अहिले बुवा पनि भाइहरुसँगै बस्न थाल्नु भो, तर आफ्ना २ सानो भाइमध्ये अझैसम्म कोही सोधखोज गर्न आएनन् । ’आफन्तले नै पराई ठानेपछि हाँसो खुशी गुमाएका मुखिया परिवारलाई वडादशैं लगायतका चाडपर्व नमनाएको झण्डै एक दशकबढी बितेको उनीहरुको दुखेसो छ । ‘आफन्त नै पराई भएपछि अरुको के आश गर्ने?’ उनले थपे–‘आर्थिकअभावका कारण दिनरात २÷४ रुपैयाँ माग्दा पनि जसोतसो परिवार धान्नै मुस्किल भईरहँदा चाडवाड नमनाएको एक दशकबढी भयो ।’
मुखियाले पत्नी र दुई सन्तानको गुजारा चलाउँदै आएकोले चाडबाडको बेला आँसु बगाउँदै बस्नुको विकल्प नरहेको दुखेसो गरे । समान्य समयमा गरिबीले त्यति साह्रो मन नदुखे पनि चाडवाडको समयमा आफु र आफ्ना परिवारलाई मन थाम्न गाह्रो हुने गरेको उनी बताउँछन् । झन अहिले दशैंकै बेला तीनदेखि निरन्तर परेको पानीले घर आगन नै पोखरी बनेपछि गएका बर्षझैं ती परिवारका सदस्यहरु यो बर्षपनि आँखामा आँसु टिलपिलाउँदै दशैंलाई विदा गर्ने सोचमा छन् । ‘वर्ष दिनपछि आएको चाडवाड मनाउने रहर नभएको होइन्, तर के गरी मनाउने?’ मुखियाले भने–‘झन यो वर्ष दशैंको बेला निरन्तर परेको पानीले घर आगन पोखरीमा परिणत भएपछि झन पिरोलेको छ ।’
चार वर्षीय छोरा सुरज र ६ वर्षीया छोरी लक्ष्मी र पत्नी समतोलियासँगै बस्दै आएका मुखियाले आफु जस्ता शारिरीक अशक्त व्यक्तिहरुको जनजीवन सहज पार्नेतर्फ स्थानीय, प्रदेश र संघीय सरकारलाई ध्यान पु¥याउन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *