वागीश्वरीमा एकादमीक इन्दस्ट्रीज डाइलग सम्बन्धी कार्यक्रम सुरु

समाचार

भक्तपुर,३० जेठ


वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा एकादमीक इन्दस्ट्रीज डाइलग कार्यक्रम जेष्ठ २६ गते आईतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको तालिम दिएको बताए ।
कुनै पनि उद्योगी देशहरुले आफ्नो बजारको निम्ति साना तथा कमजोर देशहरुमा हस्तक्षेप गर्ने बताउँदै उनले वर्तमान सरकारले विदेशीको लागि आवश्यक सस्तो ज्यामी तयार गर्ने पाठ्यक्रम लागू गरिरहेको बताए ।
मेची पुल बनाएको केही समयमै भत्केको, पप्पुजस्ता ठेकेदारी कम्पनीहरुको लापरवाहीलाई सरकारलाई बचाइरहेको प्रसङ्ग उद्धृत गर्दै उनले सरकार ठेकेदारहरुको चंगुलमा फसिरहेको प्रष्ट पारे ।
सरकारले शिक्षा क्षेत्रको विकासको लागि बजेटमा झन्झन् घटाउँदै लगेको बताउँदै उनले देशको ११ वटा विश्वविद्यालयको अनुसन्धानको लागि मात्र ७ प्रतिशत बजेट छुट्याउनु लज्जास्पद छ भने ।
वागीश्वरी माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले औद्योगिक प्रतिष्ठानमा पुगेर मात्र उद्योग सञ्चालनबारे थाहा हुने स्पष्ट पार्दै क्षमता र सीपको विकास गरेर मात्र स्वरोजगारको अवसरमा हात पार्न सकिन्छ भने ।
वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले इमानदारिताका साथ आफूसँग भएको सीप दैनिक जीवनमा प्रयोग गर्न सके सफल उद्यमी बन्न सकिन्छ भने ।
सफल जीवनको आधार पढेर जागिर खानु मात्र नभएर जागिरको लागि अवसर जुटाउने तथा व्यवसायी वा उद्यमी बनाउनु झन् राम्रो हुने उनले बताए ।
उद्योग व्यवसायी संघका अध्यक्ष रामप्रसाद प्रजापतिले विद्यार्थीहरुलाई व्यवहारिक रुपमा शिक्षासँग कार्यगत भई अगाडि बढ्नुभन्दा जागिरमुखी बन्ने प्रवृत्तिलाई न्यून गरी उद्योग व्यवसायी बनाउन कलेजले गरेको कार्यक्रमको सह्राहना गरे ।
वागीश्वरी अनुसन्धान व्यवस्थापन विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा विकल प्रजापति, मोहनकृष्ण श्रेष्ठ, अविना श्रेष्ठलगायतले बोलेको थियो ।
कार्यक्रमको पहिलो दिनमा प्रा.डा. पुष्कर बज्राचार्य, रामप्रसाद प्रजापति, कृष्णमुरारी न्यौपाने, लक्ष्मी अवाल, राजुमान बज्राचार्य र डा. किशोर हाकुदुवालले विभिन्न विषयमा बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *