सुदुरपश्चिमबासीलाई लुम्बिनी भ्रमणको निम्तो

समाचार

धनगढी १५ बैशाख


प्रदेश नं. ५ को सरकारले सुदुरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतवार गरेको पत्रकार सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो ।
सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे । ‘सुदुरपश्चिमका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई सुदुरपश्चिमका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो–आचार्यले भने । बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौेराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पु¥याउने उद्देश्य सहित प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ ।


लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । प्रदेश ५ का पहाडी जिल्लामा हिल स्टेसन बनाउने र लुम्बिनी घुमेर सकेपछि ती स्थानमा विश्रामको वातावरण मिलाउने तयारी सरकारको छ । सोही अवसरमा बोल्दै सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि सुदुरपश्चिम प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताइन् ।
उनले प्रदेश ५ बासीले सुदुरपश्चिम क्षेत्र र सुदुरपश्चिमबासीले लुम्बिनी भ्रमण गर्ने गरी नीति ल्याउन लागेको बताइन् । पर्यटन अभियन्ता, व्यवसायी र सरोकारवालासँग छलफल गरेर छिटै नै प्रदेश सरकारले पर्यटन नीति ल्याउन लागेको उनले बताइन् । प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री भट्टले बताइन् ।
‘पहिले प्रदेश घुमौं, त्यसपछि अरु प्रदेशहरु घुमौं, त्यसपछि देशभर घुमौं र अनिमात्रै विदेश घुमाँैं, उनले भनिन्–यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले अभियान नै चलाउने छ ।’ सुदुरपश्चिम सुन्दर रहेको भन्दै मन्त्री भट्टले पर्यटन प्रवद्र्धनका लागि सबैका बीचमा समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । उनले सुदुरपश्चिम सरकारकै तर्फबाट यसैवर्ष लुम्बिनी घुम्न आउने वाचा गर्दै सुदुरपश्चिम प्रदेश घुम्न प्रदेश ५ सरकारलाई निम्तो गरिन् ।
यस्तै सुदुरपश्चिमका पर्यटन अभियन्ताहरु गोपी हमाल, दिनेश भण्डारी, रमण श्रेष्ठले बोल्दै लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई सुदुरपश्चिममा आउनेगरी समन्वय गर्नुपर्ने बताए । उनीहरुले सुदुरपश्चिम क्षेत्र र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थललाई एकैसाथ प्रवद्र्धन गरेमा प्रभावकारी हुने बताए ।

भ्रमण वर्षको कार्यक्रमहरु
सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएका थिए । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिएका थिए । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरुलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको हो ।
लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् । प्रदेश ५ सरकारले भ्रमण वर्ष प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ । भ्रमण वर्षको कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो । प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए । पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ ।
भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी. पी. खनालले जानकारी दिए । लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए ।
यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ । २२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।
१. मायादेवी प्रसुति उत्सव
महारानी मायादेवी सुत्केरी हुने बेला नजिकिदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गरिन् ।
बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उनलाई बेथा लाग्यो । बगैचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिइन् । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गरे ।
सोहीअनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरुको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुलब्यानर टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरु निर्माण भए । महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौं नागरिकहरु उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरी बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइनेछ ।
२. सुजाता खीर उत्सव
सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन । एक दिन गुरुले भने, ‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’
एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राती ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *