विश्व सम्पदा दिवसमा प्रवचन कार्यक्रम

कला/साहित्य पर्यटन विशेष समाचार समाचार
भक्तपुर, ५ वैशाख
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले प्राचीन स्मारण ऐनअनुसार एक सय वर्ष पुरानो भौतिक वस्तुहरु देशकै सम्पदाको रुपमा स्थापित हुने बताउनुहुँदै सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्ने र अन्धविश्वासलाई अन्त्य गर्ने ढंगले संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले सत्तामा पुगेका शासक दलहरुले समाज परिवर्तनको निम्ति काम गर्न नसकेको औंल्याउनुहुँदै देशको सन्तुलित विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांस्कृतिक सम्पदा संरक्षणले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नुका साथै नयाँ पुस्ताको सेवा हुने बताउनुहुँदै सांसद सुवालले अमानत र उपभोक्ता समितिमार्फत् विकास निर्माणको कार्य अगाडि बढाउनु उचित हुने विचार व्यक्त गर्नुभयो ।
“द पीस अवार्ड अफ द युनेस्को इन एसिया एण्ड प्यासिफिक” र ट्रान्सपरेन्सी इन्टरनेशनलबाट ‘‘सदाचारको टापु’’ भनी पुरस्कृत गरिएको भक्तपुरका विश्व सम्पदामा सुचिकृत भक्तपुरका सम्पदा संरक्षण र सरसफाइमा अझ व्यवस्थित ढंगले अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षणमा संघ सरकारले उचित बजेट व्यवस्थापन गर्न नसकेको गुनासो व्यक्त गर्नुहुँदै आवश्यक काठ, निर्माण सामाग्री र दक्ष जनशक्तिको अभावका कारण पुनःनिर्माण कार्यमा चुनौतीहरु सामना गर्नुपरेको बताउनुभयो ।
भक्तपुरको दृश्य प्रदूषण रोक्न अव्यवस्थित तारहरु भूमिगत गर्ने प्रक्रिया अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले पर्यटकको बसाई लम्ब्याउन आवश्यक व्यवस्थापन भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘भक्तपुर नगरपालिकाका भौतिक र अभौतिक सम्पदाको पुनःजीवन’ ९च्भखष्तबष्किबतष्यल या तबलनष्दभि बलम ष्लतबलनष्दभि जभचष्तबनभक या द्यजबपतबउगच ऋष्तथ० विषयमा प्रस्तुतीकरण दिनुहुँदै भक्तपुरको सांस्कृतिक सम्पदा जगेर्ना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा संरक्षण कार्यमा भक्तपुर नगरपालिकाको काम सराहनीय भएको बताउनुहुँदै कुनै पनि ठाउँको संस्कृति जोगाउन खुला स्थानहरुको जगेर्ना गर्नु आवश्यक भएको बताउनुभयो । नेपालमण्डलको सभ्यता किसानहरुको काँधबाट उठेको बताउनुहुँदै इतिहासविद् श्रेष्ठले भक्तपुरको प्राचिन राजकुलो ब्युँताउन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रजिअ दिलिप लामिछानेले भक्तपुरको पुरानो स्वरुपको गहन अध्ययनको आवश्यकता औंल्याउनुहुँदै पर्यटककेन्द्रित गतिविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा ख्वप इ. कलेजका विद्यार्थी आ. रबिता शिल्पकारले भक्तपुर नपा वडा नं. ८ जेंलामा अवस्थित जेंला पुखुचा (पोखरी) को स्थलगत प्रतिवेदनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । 
सोही कार्यक्रममा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिलाई जेंला पुखुचाको स्थलगत अध्ययन प्रतिवेदन ख्वप इ. कलेजका प्राचार्य सुजन माकले हस्तान्तरण गर्नुभयो । विश्व सम्पदा दिवसको अवसरमा आज भक्तपुरको दरबार क्षेत्रमा सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी पनि राखिएको जानकारी भक्तपुर नपाले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *