सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

जेरुसलेम, २३ पुस

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताएका छन् । उनले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गरे ।

इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गरेका थिए । अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकहरुले चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।

चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिकहरु विस्तारै अमेरिका फिर्ता हुने बताएका छन् । राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय शर्तमाथि विचार गरिने बताए ।

“हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौं । उत्तरपूर्वी सिरियामा आइसीस पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन् । यहाँ अब आइसीसबाट कुनै खतरा छैन,” इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँगको भेटमा बोल्टनले भने ।

“इजरायल र हाम्रा अरु मित्रराष्ट्रहरुको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्दछ । साथै आइसीस र अरु आतङ्कवादी समूहसँग हामीसँगै लडेकाहरुलाई हामीले विशेष ध्यान दिनु आवश्यक छ ।”

इजरायलले मुख्य रुपमा अमेरिकी सैनिक फिर्ती बारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । इरान समर्थित लडाकूहरुले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ ।

प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकूहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताएका छन् ।

इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सैयौं हवाई हमला गरेको छ । सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियार सहित आर्थिक, प्राविधिक र राजनैतिक मद्दत गरिरहेको बताइन्छ ।

एनबिसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताएका छ । उनले सबै दुई हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गरे ।

उनले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताए । सिरियाको दक्षिणस्थित अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक तत्काल फिर्ता नहुने उनले स्पष्ट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *