विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा

शिक्षा समाचार

बैतडी, २० पुस


पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । कार्यक्रमअनुसार प्रहरी विद्यालयमै पुगेर विद्यार्थीलाई विभिन्न विषयमा जनचेतनामूलक कक्षा पनि सञ्चालन गरिएको छ । जिल्लाका सबै विद्यालयमा यो कार्यक्रम गर्ने बताइएको छ ।

विद्यालय र विद्यार्थी धेरै ठाउँमा सूचना आदानप्रदान गर्ने एउटा राम्रो माध्यम भएकाले विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ । कक्षमा लागुऔषधका असर, नराम्रो कार्यको असरबारे जानकारी दिने गरिएको छ ।

प्रहरीले सञ्चालन गरेको कक्षाबाट विद्यार्थीले साइबर अपराधका साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे पनि जानकारी प्राप्त गरेका छन् । इन्टरनेट सेवाको प्रयोगमार्फत व्यक्तिको चरित्र हत्या गर्ने, हिंसा फैलाउने, प्रलोभनमा पार्ने, अर्काको पहिचान अनधिकृतरूपमा प्रयोग गर्ने, ‘क्रेडिट कार्ड एकाउण्ट’ चोरी गरी बैङ्किङ कसुर गर्ने, अर्काको कम्प्युटर तथा त्यसको ‘नेटवर्कमा क्षति पु¥याउनेलगायत कार्य साइबर अपराधभित्र पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *