कास्की, ६ असोज

बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन् ।जलकुम्भीसँगै बाढी पहिरोले बगाइ ल्याएका मुढा, लेदोले फेवाताल कुरुप बनेपछि डुङगा चलाएर जीविकापार्जन गर्दै आएका व्यवसायीको रोजीरोटी समेत धरापमा परेको छ ।फेवातालको सिरानमा पर्ने हर्पन खोला र खहरे खोलाको बाढी सिधै फेवातालमा मिसिन्छन् । ती खोलाले फोहोर पनि बगाएर ल्याउँछन् जसले फेवा ताललाई कुरुप बनाएको छ ।डुंगा चलाउनै जोखिम हुने गरी फेवाताल फोहोर बनेपछि डुङगा व्यवसायी विनोद जलारीले बताए । ‘तालको चारैतिर फैलिएको जलकुम्भीले तालको सुन्दरता नै हरेको छ,’ उनले भने, ‘त्यतिमात्रै होइन पर्यटकलाई राखेर डुङगा चलाउन डरमर्दो भएको छ ।’
डुंगा नै चलाउन नमिल्ने गरी जलकुम्भी फैलिएपछि तालबाट दैनिक बजार आउने र घर फर्किने स्थानीयवासी पनि समस्या परेका छन् ।तालपारीका गाउँलेहरु घरेलु उत्पादन डुंगामार्फत पोखरा बजारसम्म बिक्रीका लागि ल्याउने र दैनिक आवश्यकीय चिज खरिद गरी फर्कने गर्दछन् । तर, जलकुम्भीले ताल भरिएर डुंगा नै चल्न छाडेपछि उनीहरुको आवतजावत नै रोकिएको छ ।
तालमा बाक्लै फैलिएको जलकुम्भी झार कारण दैनिक रुपमा डुंगामार्फत दूध बजारसम्म ल्याउन सकस परेको पुम्दी सिम्लेपात्लेका किसान गुरुदत्त बरालले बताए । ‘विगतका दिनमा ३०र३५ मिनेटमा डुंगामा तालपारीको सिम्लेपात्लेबाट पोखराको बैदाम, लेकसाइड पुगिन्थ्यो,’ उनले भने, ‘तालमा फैलिएको बाक्लो जलकुम्भी झारले गर्दा डेढ घण्टा लाग्ने गरेको छ ।’हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क, ड्यामसाइडमा जोडिएको ताल जलकुम्भी झारले छपक्कै ढाकेको छ । स्थानीय डुंगा व्यवसायी सरोज परियार यति धेरै जलकुम्भी पहिलोपल्ट देखेको बताउँछन् । ‘७र८ वर्षदेखि फेवातालमा जलकुम्भीको प्रकोप देखिएको होे,’ उनी भन्छन, ‘यति धेरै जलकुम्भी बगाएर ल्याएको पहिलोपल्ट हो । अरु बेला अलि कम आउँथ्यो ।’
स्थानीय संघ संस्था, डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूहलगायतले बर्से्नि जलकुम्भी झार तालबाट निकाल्दै आएका छन् । गत वर्षदेखि भने पोखरा महानगरपालिकाले मेसिनबाट जलकुम्भी झार फाल्ने गरेको छ ।पर्यटकीय मौसम सुरु भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी चिन्तित छन् । मेसिनकै भरमा नियमित जलकुम्भी हटाउने हो भने करिब डेढ महिनाभन्दा बढी समय लाग्ने अपरेटर सरोज पुनले बताए । ‘मेसिनले दैनिक १५–१६ ट्रिप जलकुम्भी झार मात्र निकाल्छ,’ उनले भने, ‘एक टिपमा २ टन झार हुन्छ ।’
उनका अनुसार मेसिनले एक घण्टामा करिब ५ लिटर डिजेल खपत गर्छ ।
मेसिनले मात्रै जलकुम्भी फाल्न झण्डै दुई महिना लाग्ने पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका सुपरभाइजर ध्रुवबहादुर गोदारले बताए । ‘मेसिनले मात्र फाल्न सम्भव छैन,’ उनले भने, ‘तालको अस्तित्व बचाउन पोखरामा रहेका सबै संघसंस्था हातेमालो गरेर अगाडि बढ्नुपर्छ । त्यसो गरेमात्र एक महिनामा झार हटाउन सकिएला ।’
फेवाताल नजिकको किनारा र मुहान तर्फका क्षेत्रमा अव्यवस्थित रुपमा खनिएको मोटरबाटोका कारण वर्षै्पिच्छे बाढीपहिरो आउने क्रम बढेको लेकसाइडका होटल व्यवसायी सन्दीप बराल बताउँछन् । उनका अनुसार वर्षै पिच्छे वाढी पहिरो,जलकुम्भी र मानव अतिक्रमणका कारण स्वच्छ फेवाताल कुरुप बन्दै गइरहेको छ।
पmेवाताल सरसफाइका नाममा सक्रिय विभिन्न संघ संस्था र फेवाताललाई आधार बनाएर ब्यबसाय गर्ने ब्यससायी संघ सस्थाहरु फेवा बचाउन सक्रिय हुनुपर्ने उनको भनाई छ।