सांस्कृतिक वाद्यवादनहरूको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गर्न सकिने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ८ पुस

सांस्कृतिक वाद्यवादनहरूको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गर्न सकिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरभित्रका १० वटै वडाका सांस्कृतिक गुरुहरूको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कला संस्कृतिलाई जगेर्ना गर्न प्रत्येक वर्ष गाईजात्राको अवसरमा सांस्कृतिक विधाहरूको मूल्याङ्कन गरी पुरस्कार दिने गरेको तथा हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्र कार्यान्वयन गर्न राय सुझाव सङ्कलन गर्ने भेलाको उद्देश्य रहेको बताउँदै विगतमा धिमाय् बाजा, धाँ बाजा, बाँसुरी बाजा, पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको जानकारी दिनुभयो ।

भक्तपुर नपाले हरेक काम जनताको सल्लाह र सहयोगमा भइरहेको उल्लेख गर्दै उहाँले निर्वाचन प्रतिबद्धताबमोजिम नगरपालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको बताउनुभयो । विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ६० वटाभन्दा बढी विद्यालयहरूले सहभागिता जनाउनु खुसीको कुरा हो, यो हप्तालाई खेलकुद महोत्सवरूपमा लिइनुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय नगरको रूपमा विकास गरिरहेको सन्दर्भमा नगरवासीहरूलाई शिक्षा, खेलकुदमा जस्तै सांस्कृतिक वाद्यवादनहरूको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गर्न सक्ने जनशक्ति तयार गर्न समय समयमा विभिन्न प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्दै जानुपर्ने बताउँदै नगरको कला, संस्कृति, सम्पदा संरक्षण गर्दै भविष्यमा सांस्कृतिक नगरको रूपमा विकास गर्ने सोच रहेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाले जनताको सल्लाह, सुझाव तथा साथ र सहयोगबाट विकास निर्माणदेखि सम्पदा संरक्षणका कार्यहरू निरन्तर अगाडि बढाउँदै आएको बताउँदै यस वर्ष गरिने बाजा
प्रतियोगिताको लागि आवश्यक सल्लाह दिनुभएकोमा सांस्कृतिक गुरुहरूप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले योमरी पूर्णिमाको अवसरमा भक्तपुर नपाद्वारा आयोजित सांस्कृतिक पदयात्रा, योमरी प्रदर्शनी र खाद्य महोत्सवमा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै सांस्कृतिक गुरुहरूले टोल–टोलमा सल्लाह गरी सांस्कृतिक बाजाहरूको संरक्षणार्थ कुन प्रतियोगिता गर्दा उपयुक्त हुनेबारेमा अमूल्य सुझावको अपेक्षासहित भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगन्द्रमान बिजुक्छेँ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको उपस्थिति रहेको सो कार्यक्रममा सांस्कृतिक गुरुहरू पञ्चलाल लाछिमस्यू, तुल्सीकाजी मानन्धर, इन्दिरा लाछिमस्यू, केदार किजु, कृष्णभक्त खत्री, कमला चगुठी, विष्णुप्रसाद प्रजापति, कृष्णकुमार सुवाल, रामभक्त कर्माचार्यलगायतले आ–आप्mनो राय सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *