नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा हस्तान्तरण गर्नुपर्छ : मेयर प्रजापति

कला/साहित्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २५ मंसिर

नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा हस्तान्तरण गर्नुपर्छ : मेयर प्रजापति

भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय तचपाल टोल, दत्तात्रय मन्दिरको प्राङ्गणमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको छ । सोही अवसरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा दरबार क्षेत्र लायकुबाट सुरु भई तचपाल पुगी टुङ्गिएको थियो ।

कार्यक्रममा प्रमुख प्रजापतिले २०७६ सालमा हुन नसकेको भक्तपुर महोत्सवको पूर्वअभ्यासको रूपमा यो उत्सवको आयोजना गरेको बताउँदै नयाँ पुस्तालाई सांस्कृतिक सम्पत्ति हस्तान्तरण गर्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय पाठ्यक्रममा नेवार जातिका मौलिक परिकारहरू योमरी, ओ, चटामरी, सम्ह्यबजी, जुजु धौलगायत विषय समेटिएको हुँदा यसको प्रवद्र्धन हुने र आगामी दिनमा यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भक्तपुुरका मौलिक उत्पादन भादगाउँले कालो टोपी, जुजु धौ, भुटेको तोरीको तेललाई संरक्षण र सवद्र्धन गर्न सके यसले यहाँको आर्थिक उन्नतिमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले ख्वप विश्वविद्यालय विधेयक पारित भए नयाँनयाँ विषयको पठनपाठन गर्न पाउने र सांस्कृतिक नगर भक्तपुरमा सांस्कृतिक पाठयक्रम निर्माण गर्न सकिने विचार राख्नुभयो ।

कार्यक्रममा वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र कृष्णप्रसाद कोजुले उत्सवको महत्वमाथि प्रकाश पार्दै उत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उक्त पदयात्रामा नवनिर्वाचित बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईसहित नगरका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । पदयात्रामा नेपाल पर्यटन बोर्डका पदाधिकारीहरू, विभिन्न होटल तथा पर्यटन व्यावसायीहरूका साथै विभिन्न जिल्लाका अतिथिहरूको पनि सहभागिता रहेको थियो । पदयात्रा तचपाल आइपुग्दा स्थानीय वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगर प्रमु्खलगायत सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

पदयात्रालाई माक प्याखँ, भैल प्याखँ, फाकंदली, लाखे प्याखँसहित विभिन्न बाजागाजाहरूले उत्सवमय बनाएका थिए । पदयात्रा तचपाल पुगेपछि सहभागीहरूले भीमसेन दबुलीमा रहेको विशाल योमरीका साथै तचपाल टोलका चारैतिर प्रदर्शनीहरू राखिएका योमरीका स्टलहरू, सम्ह्यबजीका स्टलहरू, ओ (बारा) चटामारीका स्टलहरूको अवलोकन गरेका थिए ।

दत्तात्रय मन्दिरको पूर्वी दबुली सांस्कृतिक प्रदर्शनीको लागि व्यवस्था मिलाइएको थियो । दबुलीमा वागीश्वरी माविका स–साना छात्राहरूको माक प्याखँ, नगाँचा बाँसुरी बाजा समूहको फाकंदली र लुसी प्याखँ, नित्यनाथ पासा पुचःको लाखे प्याखँ, विश्वकर्मा भैल प्याखँ खलःको भैल प्याखँ, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को बाँसु्री धुन प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा स्थानीय विशेष उत्पादन भादगाउँले कालो टोपी र स्थानीय मानन्धरबाट उत्पादित भुटेको तोरीको तेल पनि बिक्री वितरणमा राखिएका थिए । ओ (बारा), चटामरी, योमरी पकाउँदै ताजाताजी सस्तोमा बिक्री वितरण गरिएको हुँदा बाह्य तथा आन्तरिक पर्यटकहरूले मीठो मानी तचपालका चारैतिर कोही बसेर कोही उभिएरै खाइरहेका देखिन्थे । भक्तपुरको पहिचान बोकेको जुजु धौ अर्काे आकर्षक स्टल थियो । स्टललाई जुजु धौ व्यवसायी सङ्घले आकर्षक बनाएको थियो ।
सम्ह्य बजीको स्टलमा रहनुभएका राजुलाल बासुकला ग्राहकलाई भन्दै हुनुहुन्थ्यो, “यो उत्सव हो, यो नाफा खानेबेला नै होइन । लागतभन्दा एक पैसा पनि बढी मूल्य राखिएको छैन ।”
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले योमरी बनाउने सम्पूर्ण प्रक्रिया प्रदर्शन गरेको थियो भने सन्ध्याकालमा दत्तात्रय नौ बाजा दाफा भजन खलःको नौ बाजाले उत्सवमा थप रौनकता छाएको थियो ।

वडाध्यक्ष रवीन्द्र ज्याख्वका अनुसार यो पहिलो अनुभव हो, यसबाट सिकेर आगामी दिनमा नगरका अन्य स्थानमा अझ परिमार्जित ढङ्गले क्रमशः यस्तै उत्सव गर्दै जाने भक्तपुर नगरपालिकाको योजना रहेको छ ।

प्रदर्शनी र खाद्यान्न उत्सवमा विशेष गरी भनपा वडा नं. ८, ९ र १० का विभिन्न पुचः (समूह) हरूको विशेष सहभागी रहेको देखियो । सहभागीहरूको नामवली यस प्रकार रहेको छ :
दिदी बहिनी समूह, क्वाठण्डौ भनपा १०, तौलाछेँ त्वचा पुचः, तौलाछेँ, भनपा ९, योमरीको तौल २७ किलो र उचाइ ५.८ फिट, वागीश्वरी मावि च्याम्हासिंह, भनपा ९, नगाँचा बाँसुरी बाजा समूह, भनपा १०, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भनपा ९, दत्तात्रय नौ बाजा दाफा भजन खलः तचपाल, भनपा ९, श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि., जेँला, भनपा ८, भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समिति, भक्तपुर पर्यटन विकास समिति, शिवजी प्रजापति, भीमप्रसाद प्रजापति, आर.एम.के.एल. भक्तपुर, यातु गणेश योमरी पुचः, कमिचा गल्ली दिदी बहिनी समूह, झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि., भनपा ७, राजाराम दुमरु, कमलविनायक, जेँला मय्जु पुचः, भनपा ८, समय बचत तथा ऋण सहकारी संस्था लि., भनपा १०, थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि., भनपा १०, क्वाठण्डौ ता केहेँ पुचः, भनपा १०, नगाँचा मय्जु पुचः भनपा १०, सूर्यमढी मय्जु पुचः, भनपा ९, तुमचो, दुगुरे मय्जु पुचः, भनपा ९, दत्तात्रय मय्जु पुचः, भनपा ९, कृष्णश्वरी बोहजु, भनपा ८, रामलक्ष्मी खर्बुजा, भनपा ८, भक्तपुर जुजु धौ व्यावसायी सङ्घ, राजु मानन्धर, साकोलान, भनपा ९, रत्नकाजी छुँजु, भनपा १०, जसलाल लाखा, भनपा ७, क्वाठण्डौ छोरी बुहारी समूह, भनपा १०, भादगाउँले कालो टोपी, भनपा १०, लक्ष्मीभक्त चवाल, क्वाठण्डौ, भनपा १०, पूर्णलक्ष्मी बोहजु, जेँला, भनपा ८, अम्बिका धौभडेल, भनपा १० ।
उपर्युक्त सबैलाई प्रमुख र उपप्रमुखले मायाको चिनो र सहभागिता प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *