भक्तपुर, ३ असार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १५ दिने रेडियो प्रस्तोता तालिमका प्रशिक्षार्थीबीच मंगलबार समसामयिक विषयमा मार्गनिर्देशन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुठी जग्गामा मोहियानी हक कायम हुनुपर्ने र मोहीलाई रैतानी गर्ने अधिकार दिनुपर्ने बताए ।
प्रस्ताविक गुठी विधेयकमा गुठीको भागको जग्गा समेत किसानले रैतानी परिणत गर्न चाहे मालपोतले तोकेको मूल्यको २५ प्रतिशत तिरेर रैतानी गरेर लिन सकिने बताउदै प्रमुख प्रजापतिले जग्गा बाँडफाँट नहुँदै किसानले रैतानी गरेर लिन चाहेमा २५ प्रतिशत गुठीको भागको रकम तिरी रैतानी गरेर लिन पाउने बन्दोबस्त सकारात्मक भएको बताए ।
भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशनमा चल्ने र कामदार वर्गलाई शासक वर्गमा उठाउने पार्टीको उद्देश्य रहेको स्पष्ट पारे । उनले स्थानीय तहलाई राजा बन्न खोजेको प्रदेश ३ का मुख्यमन्त्रीको आरोप गलत र आपतिजनक भएको बताए ।
नेपाल मजदुर किसान पार्टीले राजनीति व्यापार होइन सेवा हो भन्ने भावनालाई अंगिकार गरिरहेको बताउदै उनले राजनीतिलाई सेवा ठान्नेहरूले मात्रै देशलाई अगाडि बढाउन सक्ने बताए ।

सञ्चारमाध्यम बन्दुक र बमभन्दा पनि शक्तिशाली हुने बताउदै उनले रेडियो प्रस्तोताहरू आफ्नो उद्देश्यमा प्रस्ट हुनुपर्ने र नैतिकताले नदिएको काम गर्न नहुने तथा अपराधमुक्त समाज निर्माणमा योगदान पु¥याउनुपर्ने बताए ।
प्रमुख प्रजापतिले मठाधिसहरू सामन्तवादका जराहरू हुन्, राजतन्त्र समाप्त भए पनि गाउँ गाउँमा सामन्तहरु जीवित नै भएको हुँदा सामन्तवाद समाप्त पार्न जरैदेखि उखेल्नुपर्छ भने । प्रमुख प्रजापतिले गुठीअन्तर्गतका मठ–मन्दिरहरु स्थानीय तहको आम्दानीको स्रोत हुनुपर्ने र सबै जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ख्वप सः कार्यक्रमका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र रेडियो प्रस्तोता तालिमका प्रशिक्षक प्रकाश सायमी र प्रशिक्षकहरुले पनि आ–आफ्नो विचार प्रस्तुत गरे ।