भक्तपुर नगरपालिकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट, संवाददाता
भक्तपुर, १० असोज


भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा असोज १० बाट संचालन हुने २०७८ सालको परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक क्यालेण्डर अनुसार विद्यालयहरुको परीक्षा यही असोज १० गतेबाट हुने भएकोले विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई “विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७” अनुसार नगरभित्रका सबै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने दिने निर्णय गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा असोज ९ गते शनिवार बसेको नगर शिक्षा समितिको बैठकले शैक्षिक संस्था सञ्चालनसम्बन्धी मापदण्ड समेत तयार गरी सबै शैक्षिक संस्थाहरूमा परिपत्र गरेको छ । बैठकले मापदण्ड बमोजिम भए नभएको अनुगमन गर्ने पनि निर्णय गरेको छ ।
कोभिड–१९ को संव्रmमणका कारण उत्पन्न वर्तमान परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशन पनि सबै विद्यालयहरुमा पठाएको छ ।
विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ र निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थीहरू लाइनमा पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नगर शिक्षा शाखाले जनाएको छ ।
नगर शिक्षा शाखाले मापदण्डमा नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट समयसमयमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने, स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्ने, विद्यालयमा एक जना शिक्षक वा कर्मचारीलाई कोभिड फोकल पर्सन तोक्ने, विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने र अचानक कुनै नयाँ परिस्थिति आइपरेमा नगर शिक्षा शाखामा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने व्यवस्था गरेको छ ।
कोभिडको संक्रमण बढेसँगै भक्तपुरका सबै विद्यालय र शैक्षिक संस्थाहरुको कक्षा अनलाइनमार्फत संचालन हुँदै आएकोमा कोभिड संक्रमणको दर कम भएसँगै अविभावकहरु र शिक्षकहरुसमेतले भौतिक उपस्थितिमा कक्षा संचालनको माग गर्दै आएका थिए । विद्यालय भौतिक उपस्थितिमा संचालन गर्ने सम्बन्धमा यस अघि नै नगरपालिकाले शिक्षक संघ,अविभावक संघ, विद्यार्थी संघका पदाधिकारीहरु र सरोकारवालाहरुसँग विद्यालय संचालन सम्बन्धी राय, सल्लाह र सुझाव लिइ सकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *