भक्तपुर, ११ पुस
व्यवसाय सञ्चालन गर्ने उदेश्यले कम्पनी ऐन, २०६३ अन्तर्गत प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेडको रुपमा स्थापित हुने स्वशासित, संगठित संस्थालाई कम्पनी भनिन्छ । कम्पनीले कानुनी रुपमा व्यक्तिसरह अधिकार प्राप्त गरेको हुन्छ । यसले चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, बेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ । साथै कानुनी उपचारको लागि कम्पनीले आफ्नो नामबाट नालिस उजुर गर्न सक्छ ।
कम्पनीलाई प्राइभेट, पब्लिक, मुनाफा वितरण नगर्ने गरी ३ प्रकारमा विभाजन गरिएको छ । कुनैपनि कम्पनी स्थापना गर्नका लागि तोकिएको ढाँचा निवेदन सहित दर्ता शुल्क र आवश्यक कागजात बुझाउनुपर्दछ । नेपालमा कम्पनी दर्ता तथा सम्बन्धित प्रशासनिक कार्य उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयले गर्दछ । कम्पनी दर्ताको लागि आवश्यक अनुसुची फारामहरु तथा दर्ता शुल्कसम्बन्धी जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयको वेबसाइट मार्फत प्राप्त गर्न सकिन्छ ।
यी हुन् कम्पनी दर्ताको लागि आवश्यक कागजातहरु
१. प्रबन्धपत्र तथा नियमावली प्रत्येकको दुई /दुई प्रति,
२. संस्थापकहरु नेपाली नागरिक भएमा संस्थापकहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
३. पब्लिक लिमिटेड कम्पनीको हकमा संस्थापना अघि संस्थापकहरुबीच कुनै सम्झौता भएको भए सोको प्रतिलिपि,
४. प्राइभेट लिमिटेड कम्पनीको हकमा संस्थापकहरुवीच कुनै सर्वसम्मत सम्झौता भएको भए सोको प्रतिलिपि,
५. कम्पनी संस्थापना गर्नेबारे सम्बन्धित निकायको पूर्व स्वीकृति वा इजाजतपत्र (कुनै निकायको पूर्व स्वीकृति वा इजाजतपत्र चाहिने भएमा मात्र)
६. संस्थापक संगठित संस्था भए,–
(क) संस्था दर्ता प्रमाणपत्र,
(ख) कम्पनी संस्थापना बारे सञ्चालक समितिको निर्णय,
(ग) संस्थापना वा दर्ताको प्रमाणपत्र तथा संस्थापना सम्बन्धी प्रमुख लिखतहरु,
(घ) संस्थापकको रुपमा संगठित संस्थाको फ्रतिनिधित्व गर्ने व्यक्तिको नियुत्ति सम्बन्धी लिखत ।
७. विदेशी लगानी हुने भए,–
(क) विदेशी लगानीबारे सम्बन्धित निकायको अनुमति पत्र,
(ख) संस्थापक विदेशी व्यक्ति भए निज कुन मुलुकको नागरिक हो सो खुल्ने प्रमाण वा राहदानीको
प्रतिलिपि,
(ग) संस्थापक विदेशी संगठित संस्था भए संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि तथा संस्थापना सम्बन्धी प्रमुख लिखतहरु (जस्तै – प्रबन्धपत्र, नियमावली वा विधान)