नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

खेलकूद विशेष समाचार समाचार

भक्तपुर, २५ कार्तिक


भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रम मा १४ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो ।


समापन कार्यक्रममा बोल्दै सांसद सुवालले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि लिम्पियाधुरा (कालापानी र लिपुलेक) बारे नेपाल सरकारले प्रकाशन गरेको प्रेस विज्ञप्तिले कायरताको पराकाष्ठा नाघेको बताउदै नेपाली भूमि भारतको हुने गरी निकालेको उक्त नक्सा अमान्य भएको र नक्सा खारेजीको निम्ति नेपाल मजदुर किसान पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाए ।
बि.सं. २०२२ सालमा भारतीय विस्तारवादले नेपालको सुस्ता क्षेत्रमा अतिक्रमण गरेको बेला पनि नेपाल मजदुर किसान पार्टीले विरोध गरेको स्मरण गर्दै सांसद सुवालले भने– ‘भारत सरकारको उक्त कदमले नेपालको सार्वभौमिकतामाथि नै चोट पुगेको छ ।


खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र देशको सार्वभौमिकता रक्षाको निम्ति हुनुपर्नेमा जोड दिँदै उनले खेलमा हारजित भन्दा पनि आपसी सम्बन्ध बढाउन र स्वस्थ हुनको निम्ति खेलिनुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक खेललाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले जोड दिइरहेको बताउँदै स्थानीय पाठ्यक्रम लागू गरी लोपोन्मुख खेलहरू पुरानो पुस्ताबाट नयाँ पुस्तालाई तालिम दिनुका साथै प्रतियोगिता समेत गरी संरक्षण गर्ने कार्य गर्दै आएको बताए ।
खेलकुदलाई संविधानको मौलिक हकको रुपमा राख्न सकेको भए खेलकुद क्षेत्रमा राम्रो विकास हुनेमा विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले टोल–टोलमा व्यायामस्थलहरू निर्माण गरी सबै उमेर समूहका नागरिकहरूलाई व्यायामको अवसर प्रदान गर्दै आएको चर्चा गरे ।
नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसद सृजना सैंजुले खेलकुद क्षेत्रमार्फत देशको सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ता तयार गर्न भक्तपुर नगरपालिकाले चालेको कदम सराहनीय भएको बताउँदै नेपाल मजदुर किसान पार्टीले नेपाली भूमिमा भइरहेको भारतीय विस्तारवादी नीतिको विरोधमा जुलुस तथा सभाहरू गर्दै आएको बताए ।


भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले खेलकुदले विद्यार्थीहरूलाई स्वस्थ, अनुशासित र टीममा बसेर काम गर्न हौसला मिल्ने बताउदै भावी जीवन सुन्दर बनाउन पनि मदत पुग्ने बताए ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाको आयोजनामा सम्पन्न खेलकुद प्रतियोगितामा उल्लासमय ढंगले सम्पन्न भएको बताए । भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई जीवन जिउने आधारको रुपमा विकास गर्ने उद्देश्य बोकेको पनि प्रस्ट पारे।


कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र भ.पु.जि भलिबल संघका अध्यक्ष विनोदचरण रायले पनि बोलेको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री र प्रथम, द्धितीय र तृतीयलाई शिल्ड वितरण गरेको थियो ।
जसअन्तर्गत छात्रा भलिबलमा प्रथम बागीश्वरी मावि, द्वितीय ग्लिटर फ्युचर स्कुल र तृतीय डेमोस इ. स्कुल र ख्वप मावि तथा रजना त्वानाबासु उत्कृष्ट खेलाडी हुन सफल भए भने छात्र भलिबलतर्फ प्रथम नवदुर्गा मल्टिपल क्याम्पस, द्वितीय श्री पद्म मावि, तृतीय सैनिक आवासीय महाविद्यालय र ख्वप सेकेन्डरी स्कुल तथा दुर्गाबहादुर सुनार उत्कृष्ट खेलाडी हुन सफल भएका थिए ।
पोर्टबल महिलामा ब्राइट स्टार स्कुल प्रथम, बासु मावि द्वितीय, प्रभात इ. स्कुल र बागीश्वरी मावि तृतीय साथै सिम्रीका बस्नेत उत्कृष्ट खेलाडी छनोट हुनुभएको थियो भने पुरुष पोर्टबलमा बागीश्वरी मावि प्रथम, महेन्द्र विद्याश्रम द्वितीय, प्रभात इ. स्कुल र गणेश मावि तृतीय तथा अनुप श्रेष्ठले उत्कृष्ट खेलाडी छनोट भएका थिए ।


फुटसलमा प्रथम सैनिक आवासीय महाविद्यालय, रोम्बर नेशनल स्कुल द्वितीय, सनसाइन नेशनल र जेन्यून सेकेन्डरी स्कुल तृतीय हुन सफल भएका थिए भने उत्कृष्ट खेलाडी आयुष कुँवर भएका थिए ।
टेबलटेनिसमा प्रथम प्रोक्सिमा इन्टरनेशनल, द्वितीय प्रभात इ. स्कुल र तृतीय एभरेष्ट इ. स्कूल , चेस खेलअन्तर्गत प्रथम ख्वप्रिङ इ. स्कुल, द्वितीय वाइजल्याण्ड से. स्कुल र तृतीय बागीश्वरी मावि, जिम्नास्टिक खेलमा प्रथम सैनिक आ.मा.वि, द्वितीय द राइजिङ स्कुल र तृतीय वाइज ल्याण्ड से. स्कुल, ब्याडमिन्टन खेलमा प्रथम हिमालयन ग्लोरी इ. स्कुल, द्वितीय सैनिक आ.मा.वि. र तृतीय वागीश्वरी मावि, कसिमला पाँय्मा बालविकास प्रथम, तारा स्कुल द्वितीय र हिमालयन ग्लोरीले तृतीय स्थान हासिल गरेको थियो ।
खो–खो छात्रतर्फ प्रथम ब्राइटस्टार इ. स्कुल, द्वितीय विद्या आर्जन स्कुल, तृतीय बागीश्वरी मावि र वाइजल्याण्ड हुन सफल भए भने खोखो छात्रातर्फ ब्राइट स्टार प्रथम, बागेश्वरी मावि द्वितीय, बालविकास र तारा मावि तृतीय हुन सफल भएका थिए ।
यसैगरी एथ्लेटिक्स खेलमा सैनिक आ.मा.वि. प्रथम, जेसिज से. स्कुल द्वितीय र गणेश मावि तृतीय, कराँतेमा बागीश्वरी मावि प्रथम, सेकरिड हार्ट स्कुल द्वितीय र बासु मावि तृतीय, उसु खेलमा प्रथम जेसिज से. स्कुल, द्वितीय श्री पद्म मावि र एभरेष्ट इ. स्कुल तृतीय, तेक्वान्डोमा प्रथम सैनिक आ.मा.वि., द्वितीय पारागन इ. स्कुल, तृतीय रोम्बस इ. स्कुलले जीत हासिल गरेको थियो ।
कबड्डी छात्रतर्फ खोप्रिङ स्कुल प्रथम, रोम्बस स्कूल द्वितीय, बागीश्वरी र पारागण स्कुलले तृतीय स्थान हासिल गरेका थिए भने कबड्डी छात्रातर्फ साइनिङ स्कुल प्रथम, रोम्बस स्कुल द्वितीय, पारागन र बागीश्वरी मावि तृतीय हुन सफल भएका थिए ।
नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल छात्रामा रजना त्वानाबासु, दुर्गाबहादुर सुत्तर, पोर्टबल छात्रामा सिम्रिका बस्नेत, छात्र अनुप श्रेष्ठ, फुटसल छात्रमा आयुष कुँवर, टेबलटेनिस छात्रमा न्हुज अवाल, छात्रामा सृष्टिका डुमरु, जिम्नाष्टिकमा छात्र रोहण बुढाथोकी र विदिसा न्यौपाने, चेस छात्रमा मनिक खायमली र छात्रामा दिपशिखा बासुकला, तेक्वान्दो छात्र अंजल खड्का र छात्रा सायना श्रेष्ठ, खोखोमा छात्र विपिन गोसाइँ, छात्रा स्नेहा प्रजापति, कराँतेमा छात्र रजक खुसु, छात्रा सुबी श्रेष्ठ, कसिमला पाँय छात्रमा रुकेश सुलु र श्रेय मानन्धर, एथ्लेटिक्स छात्र रोशन पहरी र छात्रा स्वागता खाइजु, ब्याडमिन्टन छात्रमा सरिन ख्याजु र छात्रा सुहानी कोजु, कबड्डी छात्रमा निर्जन, छात्रा मनिषा ग्वाछा र उसुमा छात्र अनुज धौभडेल र अदिती बिरबलले उत्कृष्ट खेलाडी एवम् राइजिङ खेलाडीको उपाधि हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *