सामूहिक बचतको २२ औं वार्षिकोत्सवमा ३१ जना ज्येष्ठ नागरिक र एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

अर्थ/वाणिज्य समाचार

भक्तपुर, ३ कार्तिक


भक्तपुर नगरपालिका वडा नं. ३ बोलाछेँमा अवस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३१ जना ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा द्वीप प्रज्ज्वलन गरी उद्घाटन गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले पैसाको निम्ति जे पनि गर्न पछि नहट्ने सञ्चालक सदस्यहरुले संस्थाको हित नगर्ने बताउदै समाजमा नैतिक मूल्यको रहास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
ज्येष्ठ नागरिक र एसईई सम्मान कार्यक्रम निकै सराहनीय भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारको स्तर वृद्धि गर्नुका साथै सबै वडामा शिशुस्याहार सञ्चालन गर्ने तयारीमा जुटिरहेको बताए ।
सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार हुनेछ – उनले भने ।

नगरपालिकाद्वारा सञ्चालित विभिन्न कलेजहरुले भक्तपुरका परिवारै पिच्छे इन्जिनियरि, नर्सलगायतका देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको प्रस्ट पार्दै प्रमुख प्रजापतिले नेपाल सरकार देशका युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीतिअनुरुप चल्नुपर्नेमा जोड दिए ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले देशको राजनीतिक स्थिरताले जनताको आर्थिक स्तर उकास्न मद्दत पुग्ने बताउनुहुँदै संस्थालाई बद्नाम गर्नेहरु संस्थाका शत्रु भएको बताए । बजार अनुगमनका क्रममा धेरै अखाद्य र मिसावटयुक्त खानेकुराहरु भेटिएको हुँदा उपभोक्ताहरु आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्ने बताए ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरुले धेरै प्रतिशत ब्याज प्रदान गर्नुभन्दा पनि समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन र सहकारीभित्र व्याप्त विकृतिहरुलाई हटाउँदै लानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा संस्थाको २१ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष धनेशराज राजोपाध्याय, संस्थापक अध्यक्ष श्यामप्रसाद मुनंकर्मी, उपाध्यक्ष राजाभाई भेले र सचिव विष्णुगोपाल खिम्बागलगायतले आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले ज्येष्ठ नागरिक सदस्यहरुलाई कदर पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने अतिथिहरुले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई कदरपत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *