भक्तपुर, १५ असोज
भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा घरेलु तथा साना उद्योग संघको आयोजनामा बुधबार विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११४० तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा संघको आधिकारिक वेवसाइट शुभारम्भ गरे ।
कार्यक्रममा प्रमुख प्रजापतिले आजको युग सूचना प्रविधि युग भएकोले उद्यमी र व्यवसायीहरु नयाँ नयाँ प्रविधिसँग जोडिएर प्रविधिको विकास गर्दै समयानुकुल आ–आफ्नो व्यवसायमा परिवर्तन गर्दै जानुपर्ने बताए । उनले “नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर मात्रै पुग्दैन, व्यापक तयारीको खाँचो छ” भने ।
घरेलु तथा साना उद्योग संघ रोजगारी सिर्जना गर्ने माध्यम भएको हुँदा संघको विकास गर्दै जानुपर्ने विचार राख्दै उनँले विदेशीको लगानी विनानै स्वदेशमै उद्यमीहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भनपाले भक्तपुरका स्थानीय उत्पादनहरु हाकुपटासी, जुजु धौ, भादगाउँले टोपी र टाइचिन चिउरालाई उच्च प्राथमिकता दिईरहेको बताउदै भक्तपुरको मौलिकता झल्काउने उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने विचार व्यक्त गरे ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा राखी काम गर्दै आइरहेको जानकारी गराउँदै नपाले शिशुस्याहारदेखि स्नातकोत्तरसम्मको पढाई सञ्चालन गरिरहेकोमा हाल ७ वटा कलेजहरु तथा ३ वटा जनस्वास्थ्य सञ्चालनमा रहेको अवगत गराउँदै घर घरमा नर्सिङ सेवासँगै ख्वप अस्पताल निर्माणाधीन रहेको जानकारी दिए ।
कार्यक्रममा संघका अध्यक्ष विरेन्द्र जति, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, संघको महिला उद्यमी समितिका उपाध्यक्ष रिता प्रजापति र महिला उद्यमी समितिका सभापति ईश्वरी श्रेष्ठ लगायतले पनि बोलेको थियो ।