भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सुरू

विशेष समाचार समाचार

भक्तपुर,९ असार


भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरे।कार्यक्रमको उद्‍घाटन गर्दै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिहरूले जनताको मतलाई अप्ठ्यारो हुने काम गर्न नहुने र जनताको मतको कदर गर्नुपर्ने बताए ।
नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उनले गुठी जग्गाको नियन्त्रण गर्न उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताए ।

जनताको क्रयशक्ति कमजोर हुँदा व्यापार र उद्योगधन्दाको विकासमा प्रत्यक्ष असर पर्ने सम्भव नहुने बताउँदै अध्यक्ष रोहितले बहुमत जनताको क्रयशक्ति बलियो भएमात्र व्यापारीहरूको क्रयशक्ति पनि बलियो हुने र व्यापारीहरूलाई पनि फाइदा पुग्ने बताए । उनले किसानहरूबीच समानता ल्याउन मोहियानी हकको माग उचित भएको बताए ।उत्पादनको साधनलाई सामाजिकीकरण गर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला नै समाजवादी सिद्धान्त भएको बताउँदै का.रोहितले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिए व्यवस्थित रुपमा कार्य सम्पन्न हुने बताए ।
अध्यक्ष बिजुक्छेँले नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीहरूलाई समयसापेक्ष तालिमहरू, सडक पेटी व्यवस्थापन, सफा पशु वधशाला, आदरनिकेतनको लागि आवश्यक ऐन बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि संघीय साँसद एवम् नेमकिपाका सचिव प्रेम सुवालले काठमाडौं उपत्यकामा अव्यवस्थित आवास योजना सञ्चालन हुँदा कृषियोग्य भूमिको विनास भइरहेको बताए । भक्तपुरको नगरकोट–बागीश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको बताउँदै सांसद सुवालले विकास निर्माण, पुनःनिर्माण तथा जीर्णोद्धारको कार्य अमानत वा उपभोक्ता समितिमार्फत् गराउनुपर्नेमा जोड दिए ।सांसद सुवालले सरकारको नवौंं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भएको तर बजेट वक्तव्यमा काठमाडौं उपत्यकालाई मेघासिटी बनाउने योजनालाई अगाडि सारेको बताए । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले संघीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच एकल र साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक श्रोत साधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएको बताए ।प्रमुख प्रजापतिले भने – ‘संघीयता कार्यान्वयनका लागि काठमाडौं केन्द्रित विकासलाई देशको सन्तुलित विकासमा रुपान्तरण गरिनु आवश्यक छ । स–साना कामको लागि प्रधानमन्त्री र मन्त्रीहरूको आदेश चाहिने प्रथाको अन्त्य हुनुपर्छ ।’ उनले स्थानीय तहलाई माथिको आदेश पालना गर्ने इकाइबाट मुक्त गरेर स्वायत्त ढंगले आ–आफनो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नु नै संघीयताको मर्म भएको प्रस्ट पारे ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउन डाक्टर र इन्जिनियरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयहरूको अध्ययन आवश्यक भएको बताउँदै नगरपालिकाले यी विषयहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
भक्तपुरको गौरवशाली कला–संस्कृतिलाई जोगाउन र जीवन्त बनाइ राख्न नयाँ पुस्ताको सक्रिय सहभागिताको खाँचो औंल्याउँदै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै लाने प्रतिबद्धता व्यक्त गरे ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले समाज रुपान्तरणका लागि शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको चर्चा गर्दै संस्कारयुक्त दक्ष जनशक्तिलाई समाज रुपान्तरणको लागि परिचालन गर्नु आवश्यक भएको बताए । प्रजिअ भट्टले भक्तपुर नगरपालिकालाई सदाचार र भ्रष्टाचारमुक्त नगरको रुपमा व्याख्या गर्नु उचित हुने बताए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सबिन प्रधानले नगरपालिका र प्रहरीबीचको सहकार्यले जनमानसमा शान्ति र सुरक्षाको प्रत्याभूति गराउन मद्दत पुग्ने बताए । उनले अवैध लागुऔषध सेवन र नियन्त्रण गर्न सबै सबैको सहकार्यको आवश्यकता भएको बताए ।कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी भक्तपुरको पृथक पहिचान भनेको उपभोक्ता जागरुक भएको र यसलाई निरन्तरता दिइनुपर्ने, भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले शैक्षिक बेरोजगारीलाई रुपान्तरण गर्ने शिक्षा प्रणालीमा जोड दिनुपर्ने, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरसभा सम्पूर्ण नगरबासीहरूको सभा भएकोलगायतका विचार प्रस्तुत गरेको थियो ।नगर प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे सोमबार दिनको १ः०० बजे बस्ने बैठकमा छलफल र पारित हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *