थारु महिलाको हस्तकला सिप आम्दानीको स्रोत बन्दै

अर्थ/वाणिज्य कला/साहित्य समाचार

नेपालगञ्ज, ३० जेठ


पछिल्लो समय बाँकेका थारु महिलाको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । सधै जसो साहुँमहाजनको खेतवारीमा काम गर्दै जिवनयापन गर्ने थारु महिलाको लागि सिप जीवन यापन गर्ने माध्यम बनेको हो ।
केही बर्ष अघि नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गरी आम्दानी गर्न थालेका छन् । थारु हस्तकलाको काम गर्न थालेपछि एक–दुई हजार रुपैयाँ लागि साँहु महाजनसँग हात थाप्न जानु नपर्ने नेपालगञ्ज उपमहानगरपालिका–९, की सरिता चौधरीले बताइन् । उनले भनिन् सिप नै आत्मनिर्भर रहेछ । सिप सिकेपछि हामीलाई एक दूई हजारको कमी हुदैन । बचतको भएको समयलाई सिपमा लगाउने गरेका छौं ।
तीन महिना हस्तकला सिप सिकेपछि आजभोली थारु महिला घरमै बसेर मासिक १० हजारसम्म आम्दानी गरिरहेको सरिताको भनाई छ । उनले थपिन,कुनै कुनै महिना धेरै आम्दानी हुने गर्छन । जति उत्पादन गरेपछि बजारमा खपत हुने गरेका बजारको समस्या छैन ।
सरिता मात्र होइनन् नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्राकी भागरथी चौधरीले थारु हस्तकलाका सामान उत्पादन गरेर जहानपरिवार पाल्दै आएकी छन् । घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेकी छन् । ‘ढक्की, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रे लगायतका सामान बेचेर महिनामा सात÷आठ हजार कमाउने गरेको छु, उनले भनिन् । जंगलमा खेर गईरहेको कुश अर्थात खर ल्याएर यस्ता सामग्री निर्माण गर्ने गरेको थारु महिलाको भनाई छ ।। थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज उपमहानगरपालिका–१२ की विह्या थारुले बताइन् । उनले भनिन् थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाई खानु परेको छ न त कामको खोजीमा बाहिर जानु पर्ने बाध्यता छ ।’ सामानको प्रकृति हेरेर समय लाग्ने गरेको छ । महिलाले उत्पादन गर्न लागेको समय अनुसार सामानको मूल्य तोक्ने गरेका छन् । महिलाले एउटाको तीनसयदेखि पाँचसय रुपैंयासम्म हस्तकलाका सामग्री बेच्ने गर्छन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगबाट तालिम लिएपछि थारु महिला हस्तकला सामग्री बनाउन खप्पिस भएका हुन् । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तालिम लिएपछि आधुनिक र चलन चल्तीमा रहेका प्लाष्टिक, तामा, सिसाका भाँडा जस्तै डिजाइनमा बनाउन सिकेका छौँ,’ उनले भनिन् । महिलाले उत्पादन भएका थारु हस्तकलाका सामग्री नेपाल बाहिर पनि विक्री हुने गरेको छ । संगठित भएर थारु हस्तकलाका सामग्री उत्पादन गर्दै आएका महिलाको सामग्री डेनमार्क, अमेरिका, जापान, थाइलाइन्ड जस्ता देशमा जाने गरेको पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले बताइन् ।

उत्पादन भएका सामान काठमाडौँ र पोखराका ब्यापारीले लैजाने गरेको बताइन् । ब्यापारीले महिलालाई सामानको अर्डर गरेपछि बनाउने गरेको बताउँदै अर्डर नआएका बेला मेला, महोत्सव र स्थानीय बजारका लागि बनाउने गरेको जानकारी दिइन । ‘घर र छिमेकीको घरमा गफ गरेर बिताउने समय हस्तकलाका सामान उत्पादन गर्नमा बित्ने गरेको छ,’ । काम गर्न थालेपछि एकातिर समयको सदुपयोग भएको छ भने अर्कोतर्फ आम्दानीको राम्रो स्रोत बनेको छ ।’हस्तकला सिप सिकेपछि आम्दानी हुनुका साथै हाम्रा सुदिन फिरेका छन् सरिता थपिन ।
थारु महिलाले आफूले उत्पादन गरेका सामान विक्रीका लागि काठमाडौँ, पोखरा, सुर्खेत, दाङसम्म पुग्ने गरेका छन् । घरमा विक्री नभएका सामान र आफ्नो सामानको प्रचार प्रसार गर्न मेला, महोत्सवमा लैजाने गरेको उनले बताइन् । महिलाको समूहले मेला, महोत्सवमा थारु खानाको समेत ब्यापार गर्दै आएका छन् । ‘यसले हामीलाई आत्मनिर्भर मात्र बनाएको छैन, आफ्नो लागि आफै कमाउनु पर्छ भन्ने भावनाको विकास पनि गराएको छ,’ निरुले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *