अभिभावक र बन समुहले खुवाउँछन् शिक्षकलाई तलव

शिक्षा

सल्यान १५, बैशाख


सल्यानको शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको शिर्जनसिल प्राथामिक बिद्यालयमा शून्य दरबन्दी रहेको छ । बालबिकास देखी कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा शिक्षकको दरबन्दी शून्य रहेको हो । २०६६ सालमा स्थापना भएको यस बिद्यालयमा स्थायी शिक्षक दरबन्दी शून्य भएपछि निजि शिक्षकहरुले बिद्यालय सञ्चालन गरिरहेका छन् ।
सरोकारवाला निकायहरुले शिक्षक दरबन्दीको लागी पहल नगर्दा बिद्यालय शून्य दरबन्दीमा सञ्चालन भैरहेको बिद्यालयको भनाई छ । बिद्यालयमा निजि स्रोतका ६ जना शिक्षक रहेका छन् । कार्यालय सहयोगी बाहेक सबै शिक्षकहरु निजि स्रोतमा रहेको बिद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद वलीले बताए ।
यस बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुदैँ आएको छ । ‘बिद्यालयमा नेपाली बिषय र सामाजिक बिषय नेपाली माध्यमबाट पढाई हुन्छ, अरु सबै बिषयमा अंग्रेजी माध्यमबाट पढाउदैँ आएका छौँ’ उनले भने । उनले बिद्यालयमा शिक्षक दरबन्दी शून्य हुदाँ पठनपाठनमा समस्या भएको बताए । ‘यस बिद्यालयमा शिक्षा ऐनको मापदण्ड अनुसार बिद्यार्थी संख्या छ, तर पनि शिक्षक दरबन्दी अहिले सम्म पाएको छैन्’—प्रधानाध्यापक वलीले भने ।
उनले स्थानिय अभिभावक र सामुदायिक बनको सहयोगबाट शिक्षकहरुले तलव खाने गरेको बताए । ‘अभिभावकहरुको साथ राम्रो पाएका छौँ, अहिले सम्म जति पनि बिद्यालयमा खर्च हुन्छ, सबै रकम अभिभावकहरुले सहयोग गरिरहनु भएको छ, चौपारी सामुदायिक बनले पनि आर्थिक रुपमा सहयोग गरिरहेको छ उनले भने ।
उनले बिद्यालयमा आम्दानीको स्रोत नहुदाँ समस्या भएको बताए । शान्त, मनोरम बातावरणमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको बिद्यालयले बिद्यार्थीमैत्री बसाई ब्यबस्थापन, खोनपानी, शौचालय, खेलमैदान आदीको ब्यबस्था गर्नुका साथै हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।
प्रधानाध्यापक वलीले शिक्षकहरुको तलवमा मात्रै बार्षिक ५ लाख रुपैँया बढी खर्च हुने गरेको बताए । शिक्षक दरबन्दी नहुदाँ अभिभावकहरुको सहयोग बाट मात्रै बिद्यालय सञ्चालन गर्दै आएको उनको भनाई छ ।
यसैबिच शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले यस बिद्यालयमा एउटा दरबन्दी पठाउने तयारी भैरहेको बताए । यस बिद्यालयमा दरबन्दी नहुदाँ समस्या भएको बताउदैँ उनले अब तत्काल एउटा दरबन्दी पठाउने भने । उनले बिद्यालयमा पठनपाठन शुरु भएसँगै दरबन्दी पठाउने तयारी भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *